प्रतिनिधिसभामा आज मतदान हुँदै, ओलीले विश्वासको मत पाउलान् ?

प्रतिनिधिसभामा आज मतदान हुँदै, ओलीले विश्वासको मत पाउलान् ?
Spread the love

काठमाडौँ, वैशाख २७ (ई-रैवार) 

विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियालाई संसद सचिवालयले आजै टुंगो लगाउने भएको हो ।

आज दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओली विश्वासको मत लिन लागेका हुन् । विशेष अधिवेशन विश्वासको मतको प्रयोजनका लागि बोलाइएकाले अन्य कुनै पनि बिजनेस छैन ।

प्रधानमन्त्री ओलीले संसदमा हाल कायम रहेका २७१ सांसदमध्ये बहुमतका लागि १३६ मत प्राप्त गर्नुपर्ने हुन्छ । १३६ मत प्राप्त गर्न नसके प्रधानमन्त्रीले संसदको विश्वास गुमाउने छन् र पदमुक्त हुनेछन् ।

अहिलेसम्मको संसदीय गणितलाई हेर्दा एमालेसँग १२१ भोट छ । यसमा १५ मत अन्य दलबाट ल्याउनुपर्ने हुन्छ । जबकि जसपाले तटस्थ बस्ने निर्णय नै गरिसकेको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना लगभग टर्दै गइरहेको छ ।

प्रतिनिधिसभामा हाल कायम सांसदहरुको संख्या २७१ छ । प्रधानमन्त्रीले विश्वासको मत पाउन १३६ सांसद चाहिन्छ । संसदमा सबैभन्दा ठूलो दल एमालेका १२१ सांसद छन्। आन्तरिक विवादमा फसेको एमालेका माधव नेपाल पक्षका सांसदहरुले राजीनामा वा फ्लोर क्रस गर्न सक्ने आंकलन पनि हुँदै आएको छ ।

यदि एमालेका सबै सांसदहरुले ओलीलाई मत दिए पनि सरकार टिकाउन चाहिने मत अपुग हुने छ । किनभने ६१ सांसद रहेको कांग्रेस र ४९ सांसद रहेको नेकपा माओवादी केन्द्रले ओलीलाई विश्वासको मत नदिने यसअघि नै निर्णय गरिसकेका छन् । अंकगणितको हिसाबमा सत्ता समीकरणमा निर्णायक मानिएको जसपाका हाल कायम ३२ सांसद छन् ।

जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीको विपक्षमा उभिएको छ भने महन्थ ठाकुर र राजेन्द्र महतो तटस्थ बस्ने निष्कर्षमा पुगेको छ । आइतबार बसेको जसपाका शीर्ष नेताहरुको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने र स्वतन्त्र छाड्ने निर्णय गरेको थियो ।

संसदमा नेमकिपा, जनमोर्चा, राप्रपा र स्वतन्त्र १/१ जना सांसद छन् । यस हिसाबले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने संकेत देखिएको छ ।

नेकपा एमालेकै माधव–झलनाथ समूहले सामुहिक राजीनामा दिने तयारी गरिरहेको छ । सो समूहले राजीनामा दियो भने केपी ओलीले बहुमत पाउने सम्भावना रहनेछैन । माधव समूहले केपी ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिए पनि ओली पक्षबाट यसको प्रतिक्रिया आएको छैन ।

प्रतिनिधिसभामा मतदान गर्नुपर्ने सदस्यहरुको संख्या २६६ रहे पनि अस्पतालमा रहेका झलनाथ खनाल  कोरोनाका कारण झापामा आइसोलेसनमा रहेका राप्रपा सांसद राजेन्द्र लिङदेनले मतदानमा सहभागिता जनाउने सम्भावना छैन । अन्य केही सांसदहरुको पनि अनुपस्थिति हुन सक्छ । किनकि, चौथो ठूलो दल जसपाले आफ्ना सांसदहरुलाई ह्विप नलगाउने र तटस्थ बस्न सक्ने भनेको छ ।