कांग्रेस सभापति देउवालाई भेट्न महन्थ र राजेन्द्र बुढानिलकण्ठमा

कांग्रेस सभापति देउवालाई भेट्न महन्थ र राजेन्द्र बुढानिलकण्ठमा
Spread the love

काठमाडौँ, वैशाख २६ (ई-रैवार) 

जनता समाजवादी पार्टीका दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । पछिल्लो समय पार्टीभित्र दबाब बढेको र माधवकुमार नेपाल समूहले पनि ओलीलाई विश्वासको मत नदिने बरु राजीनामा दिने तयारी गरेपछि जसपा नेताहरु देउवा निवास पुगेका हुन् ।

अध्यक्ष ठाकुर र नेता महतो देउवा निवास गएको र अहिले भेटवार्ता जारी रहेको जसपाका एक नेताले बताए। नयाँ सरकार गठनको पहल भइरहेका बेला दुई नेता देउवासँग छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा अध्यक्ष ठाकुर रहेका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भोलि सदनमा लिने विश्वासको मतका समर्थन जुटाउन ठाकुर महतो समेतलाई लिएर बूढानीलकण्ठ पुगेको एक नेताले बताए ।

तर जसपा नेपालमै भने प्रधानमन्त्री ओलीको विश्वासको मतको बारेमा पार्टीमा दुईटा धार छ । जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर पक्षमा छन् ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त नहुने अवस्था आएमा जसपा नेपालका अध्यक्ष ठाकुर पक्ष तटस्थ बस्ने सोच पनि बनाएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै विश्वासको मत प्राप्त नहुने अवस्थामा आए जसपा नेपाल तटस्थ बस्दा नै राम्रो हुने सुझाव दिएको एक वरिष्ठ नेताले बताए ।

यस्तो अवस्थामा तटस्थ बस्नका लागि महन्थ ठाकुर पक्षका नेताहरुले उपेन्द्र यादवलाई पनि दवाव दिइरहेका छन् ।
यसअघि अध्यक्ष उपेन्द्र यादवले पनि देउवासँग छलफल गरिसकेका छन् । सभापति देउवाले प्रधानमन्त्री ओलीलाई समर्थन नगर्ने भनिसकेका छन् ।