संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु

संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु
Spread the love

काठमाडौँ, वैशाख २६ (ई-रैवार) 

प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ। परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना उपस्थित रहेका छन्। संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, महिला आयोग लगायतका रिक्त रहेका पदहरुमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने कार्यसूची छ ।

संविधानअनुसार परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख रहन्छन् ।बैठकमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा भने सहभागी भएका छैनन्।

सरकारले हालै जारी गरेको संवैधानिक परिषदको बैठकसम्बन्धी अध्यादेशमा ‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ’ भनिएको छ । परिषदमा हाल बहाल रहेका सदस्यहरुको संख्या ४ रहेकोमा दुईजनाको मात्र उपस्थितिमा निर्णय हुन लागेको हो ।

त्यसो त गत मंसिर ३० गते पनि प्रधानमन्त्री ओलीले दुईजना सदस्यहरुबाटै निर्णय गराएर संवैधानिक निकायका ३४ पदमा नियुक्तिको सिफारिस गराएका थिए । संसद विघटन भएकाले संसदीय सुनुवाइ बिनै ती नियुक्तिहरु सदर भएका थिए । सो नियुक्तिविरुद्ध सभामुख अग्नि सापकोटाले अदालतमा दायर गरेको रिट अहिलेसम्म विचाराधीन छ ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने अघिल्लो दिन बसेको परिषदको बैठकले रिक्त रहेका सबै संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गर्ने स्रोतले बतायो ।

यसबीच, नेपाली काँग्रेस माओवादी लगायतका दलले बहुमत गुमाइसकेका प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक राख्नु बदनियतपूर्ण भएको भन्दै विरोध जनाएका छन् ।