सुदूरपश्चिम प्रदेशमा एकैदिन कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा एकैदिन कोरोना संक्रमणबाट ११ जनाको मृत्यु
Spread the love

धनगढी, वैशाख १६ (ई-रैवार)

सुदूरपश्चिममा एकैदिन ११ जना कोरोना  संक्रमितको मृत्यु भएको छ । बिहिबार कैलालीका ६, कञ्चनपुरका तीन, अछाम र बझाङका एक/एक जनागरी ११ जना संक्रमितको मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार  सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ बस्ने ४५ वर्षीया महिलाको बिहान, आइसियूमा उपचाररत लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको, धनगढी उपमहानगरपालीका ४ का ४० बर्षिय पुरुष, घोडाघोडी नगरपालिका–१२ का २८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

यसैगरि  कैलालीको गोदावरी नगरपालिकाका ८७ बर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । उनलाई १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।  होम आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उता महाकाली अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवक, वडा नम्बर १८ कि ३६ बर्षिय एक महिला र १९ का २१ वर्षीय युवकगरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको बताएका छन् ।

कोरोना सम्पर्क व्यक्ति डा. रोकायाले भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहिवार बिहान १ बजे, दोधारा चाँदनी नगरपालिकाका ३० बर्षीय युवकको राती १२ बजेर ३० बजे र भिमदत्त नगरपालिका १८ कि ३६ बर्षिय एक महिलाको बिहिबार बिहान ७ बजेर ३० बजे मृत्यु भएको बताए ।

बझाङमा पनि कोरोना संक्रमणका कारण एक संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको जिल्ला अस्पतालले बझाङले जनाएको छ ।

उता  अछामका पनि एक संक्रमितको पुरुषको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढी गाउँपालिका–५ कालिका बाहुन गाउँका ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनकोे नेपालगंजबाट अछाम ल्याउँदै गर्दा बर्दियामा मृत्यु भएको बताइएको छ ।