पोखरा, वैशाख १६ (ई-रैवार)
दीपक मनाङले खेलुकद मन्त्रीको शपथ लिएका छन् । गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त भएका दीपक मनाङ्गे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।
उनलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मनाङबाट निर्वाचित सांसद मनाङ्गे स्वतन्त्र सांसद हुन् । सामाजिक विकास मन्त्रालय फुटाएर मनाङ्गेलाई मन्त्री बनाइएको हो ।
मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव आएका बेला मन्त्रिपरिषद विस्तार गरिएको छ । गण्डकी प्रदेशसभाको अंक गणितलाई हेर्दा मनाङ्गेलाई मन्त्री बनाए पनि मुख्यमन्त्रीगुरुङ विरुद्ध परेको अविश्वासको प्रस्ताव असफल पार्नका लागि सत्तारुढ एमालेलाई आवश्यक संख्या पुग्दैन ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका १५, माओवादीका ११ जनमोर्चाका ३ र जसपाका २ गरी ३१ सीट पुग्छ । चारवटै दलले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताइसकेका छन् । दीपक मनाङ्गेलाई समेत जोड्दा एमालेसँग २८ मत मात्र छ । बराबरी भएको अवस्थामा निर्णायक मत दिन पाउने सभामुख पनि माओवादीकै छन् ।
बुधबार अकस्मात् अस्पताल भर्ना भएका जनमोर्चाका सांसद खिमविक्रम शाहीले पनि पार्टीको निर्णय पालना गर्ने भन्दै वक्तव्य निकालिसकेका छन् । मंगलबार पीसीआर जाँच नगरी मतदान गर्न नपाइने भन्दै सत्तारुढ एमालेले प्रदेशसभा अवरुद्ध पारेको थियो । बुधबार मतदान हुने बेलामा जनमोर्चाका सांसद हराएपछि संसद बैठक स्थगित गरिएको छ ।


