‘हुल्लडबाज’ अघिअघि ओली पछिपछि !

‘हुल्लडबाज’ अघिअघि ओली पछिपछि !
Spread the love

काठमाडौं, मंसिर २२ (ई-रैवार) 

मंसिर २० गते बालुवाटारमा बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक आवश्यक नै देखेका थिएनन् । बहुमत सदस्यहरुले स्थायी समिति बैठक राख्नुपर्ने बताइरहँदा ओलीले भनेका थिए, ‘के स्थायी समिति बैठक रत्यौली खेल्न राख्ने ? यसको कुनै औचित्य र आवश्यकता नै छैन ।’

तर ओलीको यो अडानले काम गरेन र अन्ततः सचिवालय निर्णय अनुसार बैठक बसेरै छाड्यो । स्थायी समितिको आवश्यकता र औचित्य नदेखेका ओली पार्टी मुख्यालय धुम्बाराहीमा मंसिर २१ बाट सुरु भएको स्थायी समितिमा भौतिक रुपमा उपस्थित नभएपनि पत्रमार्फत आफ्नो धारणा राखेर सहभागिता भने जनाएका छन् ।

त्यसो त ओली पार्टी विवादमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ मा पेश गरेको प्रतिवेदनलाई प्रतिवेदनका रुपमा स्वीकार्न भने अझै तयार भैसकेका छैनन् ।

यसअघि दुवै प्रतिवेदनहरुमाथि छलफल गर्न डाकिएको मंसिर १७ गतेको सचिवालय बैठकमा पनि ओली सहभागी भएका थिएनन् । ओली सहभागी नभएपनि उक्त बैठकले केही महत्त्वपूर्ण निर्णय गर्दै अघि बढ्ने निर्णय गरेको थियो ।

कहिले सचिवालय त कहिले स्थायी समितिमा उपस्थित नै नहुने ओली बैठकमा उपस्थित नहुनुको एउटै कारण हो, आफ्नो पद जाने डर । यही डरका कारण उनी बैठक फेस गर्नबाट पन्छिदै आएको नेकपाका नेताहरुको बुझाइ छ ।

‘बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष सशरीर उपस्थित नभएपनि आफ्नो विचार लेखेर पठाउनुभएकाले उहाँ बैठकमा उपस्थित भएसरह हो’, स्थायी समिति सदस्य तथा नेता भीम रावलको बुझाइ छ । ओलीको यस्तो उपस्थितिलाई नेकपाका नेताहरु जवरजस्ती घिसार्नु परेको टिप्पणी पनि गर्छन् ।

स्थायी कमिटी बैठकको औचित्य नभएको भन्दै त्यसलाई रत्यौलीको संज्ञा दिने उनै ओलीले त्यही स्थायी समितिले गर्ने निर्णयमाथि भने भरोसा राखेका छन् ।

‘मलाई स्थायी कमिटीका कमरेडहरुको सामूहिक विवेकमाथि विश्वास छ’, ओलीले स्थायी समिति सदस्यहरुलाई सम्बोधन गर्दै बैठकमा पठाएको पत्रमा भनेका छन्, ‘गतः भदौ २६ गते पनि कमरेडहरुले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराउनु भएको थियो । आशा छ, कमरेडहरुले यस पटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलन कै शिकार हुने गरी सिर्जना भएको वर्तमान सङ्कटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनु हुने छ ।’

ओलीले यसअघि पार्टी बैठकमै स्थायी समिति सदस्यहरुलाई ‘हुल्लडबाज’ र केन्द्रीय समिति सदस्यहरुलाई ‘सडकछाप’ को संज्ञा दिएका थिए ।
पार्टीभित्र विवाद बढ्नुमा ओलीले अधिवेशनबाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने पार्र्टी नेताहरुका कारण समस्या निम्तिएको पनि दावी गरेका छन् । ‘तर पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्नका लागि नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस संकटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास रहिरहेको छ’, ओलीको भनाइ छ ।

अपमान महसुस कि औपचारिकता ? 

पार्टी नेताहरुलाई हुल्लडबाज र सडकछाप भनेर अपमान गर्ने ओलीले किन स्थायी समितिप्रति भरोसा गरे त ? नेता तथा स्थायी समिति सदस्य गणेश साहको बुभाइमा ओलीले त्यसरी नेताहरुलाई अपमान र अवमूल्यन गर्नु नै ठुलो गल्ती भएको बताउँछन् । ‘तर अहिले त्यही कमिटीप्रति भरोसा गर्नुपर्ने अवस्था आयो । जसले उहाँलाई पार्टीको नेता मानेको छ । त्यसैलाई अपमान गरेपछि उहाँ कसरी नेता बन्नुहुन्छ ? बन्न सक्नुहुन्न । हो यो कुरा उहाँले बल्ल महशुस गर्नुभएको भन्ने बुझिन्छ र स्थायी समितिले विवेकपूर्ण निर्णय गर्छ भन्ने आशा देखाउनुभएको छ’, साहको भनाइ छ ।

‘आफूलाई बढी मुल्यांकन गर्ने र अर्कालाई अवमूल्यन गर्नाले सिद्धान्तबाट विचलित भएको देखाउँछ । त्यसैले अव अहं देखाउने समय होइन भन्ने आभास भएको हुनुपर्छ’, साहले भने, ‘फलेको वृक्ष जहिले पनि झुक्छ । भनेझै उहाँ पार्टी अध्यक्ष र प्रधानमन्त्री हो । यसरी दुवै फल लागेपछि सवैको साथ सहयोग लिएर अघि बढ्नुपथ्र्यो । तर हुल्लडबाज र सडकछाप भनिदिनु भयो ।’ उनले पार्टी कमिटीहरुलाई अपमान गर्न नहुने रहेछ भनेर ओलीले बल्ल बुझ्न थालेको बताए ।

अर्का सदस्य बेदुराम भुषाल ओलीका भनाइ आफैंमा विरोधाभाष रहेको टिप्पणी गर्छन् । ‘उहाँको भनाइ आफैंमा विरोधाभाषयुक्त छ’, भुषालको भनाइ छ । उनले ओली आफैंले विधानविपरित काम गर्ने र अनि अरुलाई आरोप लगाउने गरेको पनि बताए । आरोपको प्रतिवाद गर्न नसक्ने ठाउँमा ओली पुगेको पनि उनले बताए ।

‘अदालतमा पनि कुनै आरोप लागेर मुद्दा हालियो भने त्यो आरोपको प्रतिवाद गर्न गएन भने स्वतः स्वीकारेको मानेर मुद्दा हराइदिन्छ’, भुषालले ओलीले पनि त्यस्तै गरेको विश्लेषण सुनाए । ‘जे विषयलाई आरोप भनेर भनिरहनुभएको छ त्यसको सामना गर्ने भनेको कमिटीमै आएर गर्ने हो । त्यो गर्न जव उहाँ सक्नुहुन्न भने उहाँ आरोपको प्रतिवाद गर्न नसक्ने ठाउँमा पुग्नुभएको छ भन्ने बुझ्नुपर्छ’ भुषालको भनाइ छ ।

उनले ओलीमा अझैपनि आफू चाहिँ धारण राख्ने तर अरुलाई चाहीँ धारणा राख्नै पाउदैनौँ भन्ने प्रवृति रहेको पनि बताए । ‘स्थायी समितिको बैठकमा पनि आफ्नो धारणा राख्नुभयो । यसरी आफूचाहिँ धरणा राख्ने अनि अरुलाईचाहिँ छलफल नै गर्न पाउँदैनौं भनेर रोक्न पाइँदैन’, उनको भनाइ छ ।

‘अति भएपछि खति हुन्छ’

स्थायी समिति सदस्य साह ओलीलाई घिसारेरै बैठकमा सहभागी गराउनुपर्ने अवस्था आएकाले त्यसो गरिएको बताउँछन् । ‘घिसार्नै पर्यो ।  नघिसारेर हुँदै नभएपछि घिसारिएको हो । पार्टी अध्यक्ष भएपछि मिटिङलाई इग्नोर गर्ने, त्यसबाट पन्छिने, भाग्ने कम्युनिस्ट पार्टीको चरित्र होइन’, सदस्य साह भन्छन्, ‘कम्युनिस्ट पार्टीको कल्चर संस्थागत निर्णय गर्ने हो । तर उहाँ त्यसको विपरित जान थाल्नुभयो । त्यही भएर उहाँलाई घिसार्नु परेको हो ।’
कम्युनिस्ट पार्टीका बैठक नियमित र व्यवस्थित हुनुपर्ने भन्दै त्यही व्यवस्थित बैठकका लागि ओलीको सहभागिता भएको उनको भनाइ थियो ।

‘उहाँ उपस्थित नभएपनि ओपिनियन आयो । अझ उपस्थित नै भएर बोलेको भए झन् उहाँको इज्जत बढ्थ्यो’, साहको भनाइ छ । भुषाल घिर्सिदै बैठकमा आउने र आफैले गाली गरेको कमिटीमा भरोसा राखेजस्तो पनि गर्नुमा औपचारिकता मात्रै भएको हुनसक्ने बताउँछन् । ‘त्यो औपचारिकता मात्रै हो जस्तो लाग्छ । किनभने कमिटीभित्रको कम्पोजिसन उहाँलाई राम्रोसँग थाहा छ । त्यही भएर नै उहाँ तर्किन खोज्नुभएको हो’, भुषालले भने, ‘आफ्नो अनुकूल निर्णय भए पार्टी कमिटी र बैठक भन्नुहुन्छ नभए पार्टी कमिटी नै होइन भन्नुहुन्छ । उहाँले पार्टी एकता भएदेखि नै आफूले निर्णय गराउँदा बहुमतले नै गराउनुभएको छ ।’

प्रदेश पदाधिकारी,केन्द्रीय समितिका सदस्यहरुको कार्यविभाजन , प्रदेश प्रमुखहरुको नियुक्ति पनि बहुमतले निर्णय गराएको नजिर रहेको भुषालको भनाइ छ । रातोपाटीबाट