विराटनगर, असार । तीन दिन अगाडि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी बेपत्ता भएका सङ्खुवासभाका तीन स्थानका २० जनाको अवस्था अझै अज्ञात छ । बेपत्ता २१ जनाको पहिचान खुलेको भए पनि हिजो साँझ एक जनाको मात्र शव फेला परेको छ । उनको पहिचान खुलेको छैन भने शरीरको आधा भाग पनि फेला नपरेको प्रहरीले जनाएको छ । संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वीरेन्द्र गो द्धा रले आज पनि बिहानैदेखि उनीहरूको खोजी जारी रहेको बताए । ‘खोजी जारी नै छ । आज बिहानैदेखि टोली लागिरहेको छ । हिजो एउटा शव भेटिएको थियो । त्यो पनि कम्मरभन्दा तलको भाग मात्रै छ । कसको हो भन्ने विषयमा पहिचान खुलेको छैन । अरू व्यक्ति फेला परेका छैनन्,’ गोद्धारले भने, ‘खोजीको लागि हेवा खोलाको बगरमा प्रहरीहरू परिचालित छन् ।’उनका अनुसार यसअघि २० मिटर चौडामा रहेको खोलाको आकार अहिले बढेर १५० मिटर भन्दा बढीको भएको छ भने त्यसपछि बनेको बगरमा १० देखि १५ फिट अग्लो बालुवा र माटो थुप्रिएको छ । ‘हेवा खोला पहिले लगभग २० मिटरजतिको थियो । अहिले १५० मिटर जति फराकिलो बनेको छ । लगभग १० देखि १५ फिटमाटो र बालुवा थुपारेको छ । त्यसले गर्दा खोजीको कार्यमा कठिनाइ भएको छ,’ उनले भने, ‘अहिले प्रहरीबाट १०७ जना, सशस्त्र प्रहरीबाट ५५ जना र नेपाली सेनाबाट १२५ जना गरेर २९१ जना सुरक्षाकर्मीको टोलीले खोजीमा लागेका छन्,’ उनले भने, ‘त्यसबाहेक गाउँपालिकामा रहेका जनप्रतिनिधि तथा स्थानीय युवाहरू पनि संलग्न छन्सुरक्षाकर्मीहरूले बगरको दुवै साइडबाट शङ्का लागेको ठाउँमा कोट्याउँदै हेर्दै गरिरहेको छ । ‘पुरै बगर खन्न सम्भव छैन । यद्यपि पानीले बगाएको वा डुबाएको अवस्थामा भेटिन्छ कि भनेर खोजी गरिरहेको अवस्था छ,’ प्रहरी प्रमुख गोद्धारले भने ।
सङ्खुवासभाको चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका मजदुर बेपत्ता भएका थिए । ‘हाइड्रोमा काम गर्ने मानिसहरू माथिबाट ठुलो भेल आयो र बगायो । हाइड्रोमाथि पुरै बालुवा थुपारेको छ । कतिपय ठाउँमा ठूलोठूलो खाल्डो पनि बनेको छ,’ प्रहरी प्रमुख गोद्धारले भने ।
पानी तथा दहमा बेपत्ता भएकाहरूको खोजीमा गोताखोर झिकाइने गरिएको छ । तर, सङ्खुवासभाको उक्त खोलामा गोताखोरले पनि खोजी गर्न नसक्ने अवस्था रहेको उनले बताए ।


