पोखरा, वैशाख १४ (ई-रैवार)
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन कोरोना संक्रमण परीक्षण नगरी डाकिएको भन्दै अवरुद्ध गरेको छ । सांसदहरूको पिसिआर परीक्षण गर्न माग गर्दै गण्डकी प्रदेशसभाको विशेष अधिवेशन नेकपा एमालेका सांसदहरूले अवरोध गरेका हुन् ।
प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान गर्न बोलाइएको बैठकमा एमाले प्रदेशसभा सदस्य राजीव पहारीले सुरूआतमै कोरोना महामारीका कारण बैठक सञ्चालन गर्न नहुने माग गर्दै बैठकमा अवरोध गरेका हुन् । उनले कोरोनाका कारण सरकारले २५ जनाभन्दा बढि भेला हुन नपाउने निर्देशनात्मक आदेश जारी गरिसकेको अबस्थामा प्रदेशसभामा सांसदसहित २ सयभन्ढा बढि सहभागी भएको भन्दै सभा सञ्चालन नगर्न माग गरे ।
अधिवेशनको सुरूआतमा एमाले सांसदहरू उभिएर बैठक अवरूद्ध पारेपछि सभामुख नेत्रनाथ अधिकारीले किन उठ्नुभएको हो ? भनेर सोधेका थिए।
जवाफ दिँदै एमाले सांसद पहारीले सबै सांसदको पिसिआर परीक्षण नगरी सांसद चल्न नसक्ने जानकारी गराएका थिए। कोरोना भाइरसले सांसदलाई पनि नछाड्ने भन्दै उनले संक्रमणकै कारण कोही सांसद र कर्मचारीको मृत्यु भएमा जिम्मेवारी कस्ले लिने भनेर प्रश्न गरेका थिए।
सभामुख अधिकारीले सर्वसम्मत बैठक बोलाएको भन्दै सांसदलाई बस्न पटक/पटक आग्रह गरेका थिए। एमाले सांसदहरुको विरोधपछि गण्डकी प्रदेशसभाको बैठक सभामुख नेत्रनाथ अधिकारीले बैठक २० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन् ।
प्रदेशसभामा एमाले नेता पृथ्वीसुब्बा गुरूङ नेतृत्वको सरकारविरूद्ध विपक्षी दलहरू कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पेश गरेको अविश्वास प्रस्तावमाथि छलफल भइरहेको छ।
मुख्यमन्त्री गुरूङको सरकार टिकाउन पिसिआर परीक्षणको माग अघि सारेर सत्तारूढ सांसदले नै सदन अवरोध गरेको विपक्षीको बुझाइ छ।


