जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच बैठक जारी

जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच बैठक जारी
Spread the love

काठमाडौँ, वैशाख १४ (ई-रैवार)

जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक जारी छ । जनता समाजवादी पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शीर्ष नेताहरुबीच बैठक जारी रहेको हो ।

बैठक अहिले पार्टी कार्यालय बालकुमारीमा बसिरहरेको जसपा नेता प्रकाश अधिकारीले जानकारी दिए । बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन् । समसामयिक विषयमा छलफल भइरहेको अधिकारीले बताए ।

वर्तमान सरकार परिवर्तन गर्ने वा कायमै राख्ने भन्नेमा जसपाले प्रष्ट निर्णय गर्न सकेको छैन । ठाकुर ओलीसँग सहमति गरेर जाने पक्षमा छन् भने यादव–भट्टराईले सम्झौता गर्न नहुने बताउँदै आएका छन् । “ओली सरकारको विकल्प खोज्ने विषयमा नेताहरुमा छलफल गरिरहनुभएको छ । वैकल्पिक सरकार बनाउनुपर्छ भन्ने जोड छ,” स्रोतले भन्यो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा रहेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले पनि जसपाको निर्णय कुरेर बसेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्र प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव लैजाने अन्तिम तयारीमा लागेका छन्। अविश्वासको प्रस्ताव दर्ता गर्न उनीहरूले संसदको चौंथो ठूलो दल जनता समाजवादी पार्टीको निर्णय कुरिरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने र कांग्रेस-माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउनेबारे जसपाका शीर्ष नेताहरूको बैठकले अहिले छलफल गरिरहेको हो ।

जसपाका एक नेताले भने- आजको बैठकले कांग्रेस-माओवादीसँग मिलेर अघि बढ्ने निर्णय गर्न सक्छ। आज नभए भोलिसम्ममा बहुमतका आधारमा भए पनि निर्णय हुन्छ। जसपाले निर्णय गरे बुधबार नै प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी रहेको कांग्रेसका एक नेताले बताए।

पछिल्ला केही दिनका निरन्तर छलफलपछि कांग्रेस र माओवादी केन्द्र जसपालाई मनाएर नयाँ सत्ता गठबन्धन गर्ने निर्णयमा पुगेका हुन्। वैशाख ५ गते नै कांग्रेस र माओवादी केन्द्रबीच ओलीविरूद्ध अविश्वासको प्रस्ताव लैजाने सहमति गर्ने तयारी थियो।