धनगढी, साउन ६ (ई-रैवार)
सुदूरपश्चिम सरकारका तीन मन्त्रालय र प्रदेशसभा भवनमा शंकास्पद बस्तु फेला परेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानि समेत रहेको धनगढीका विभिन्न स्थानहरुमा शंकास्पद वस्तुहरु भेटिएपछि स्थानियहरुमा त्रास फैलिएको छ ।
सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला परेको छ । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा नजिक बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेको बताउँदै डिस्पोजका लागि नेपाली सेनाको टोली आईरहेको जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक विष्टले शक्तिशाली बम भएको आशंका गरिएको जानकारी दिए । नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थल पुगेर शंकास्पद बस्नु डिस्पोजको तयारी गरेको छ । चार ठाउँमा शंकास्पद बस्तु फेला परेपछि प्रहरीले उच्च सुरक्षा सतर्कता अप्नाएको छ ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै गरेको बन्दको समयमा विभिन्न तीन स्थानमा बम फेला परेपछि धनगढीको जनजीवन त्रसित भएको छ ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रचनात्मक ढंगले काम कारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेता कार्यकर्ता रिहा नगरेको भन्दै विप्लव समूहले साउन ३ गतेदेखि ८ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गर्दै मंगलवार सुदूरपश्चिम बन्दको घोषणा गरेको थियो । बन्दको बिहानैदेखि प्रभाव परेको छ भने ठाउँ ठाउामा शंकास्पद बस्तु फेला परेका छन । धनगढीको अधिकांश बजार बन्द रहेको छ भने निजि सवारी साधन पनि निकै कम मात्रै चलेका छन ।
सुदूरपश्चिमका तीन मन्त्रालय र प्रदेश सभा सचिवालयमा समेत शंकास्पद बस्तु फेला परेको छ । विप्लव समूहले साउन ३ गते प्रचार प्रसार गर्ने, ४ गते कोणसभा गर्ने, ५ गते मशाल जुलुस गर्ने र ६ गते सेती महाकाली बन्द गर्ने कार्यक्रम घोषणा गरिएको थियो । ६ गतेदेखि ८ गतेसम्म सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरिने जनाईएको छ ।
कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ वेलीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओम प्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णिमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो । उनीहरुका साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको थियो ।


