काठमाडौं, वैशाख १३ (ई-रैवार)
गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वासको प्रस्ताव पेस हुँदैछ । विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची छ ।
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट शुरू हुँदैछ । गण्डकी प्रदेशको आज दिउँसो २ बजे शुरु हुने विशेष अधिवेशनको पहिलो दिन नै अविश्वास प्रस्ताव टेवल हुन लागेको हो ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिमा आज पहिलो दिन नै अविश्वास प्रस्ताव टेवल गर्ने सहमति जुटेको जनाइएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार सोमबार प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् । त्यसपछि अरु प्रदेशसभा सदस्यले बोल्न समय पाउने छन् । प्रदेशसभा सचिवालयका अनुसार अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि बल्ल मतदान हुनेछ ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र पोखरेल नेपालीले प्रस्ताव टेबुल गर्नेछन् । गत वैशाख २ गते दर्ता भएको अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेसँगै प्रमुख विपक्षी दल नेपाली कांग्रेस नयाँ गठबन्धनमा कस्सिएको छ ।
प्रदेश सरकारको समीकरण बदलिने सम्भानासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा मन्त्रालय भागबण्डाको विषयमा छलफल शुरु भएको छ । ६० सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २७, माओवादी केन्द्रको १२ जना, राजमोका ३, जनता समाजवादी पार्टीका २ र एक जना स्वतन्त्र सांसद छन् ।
अविश्वासको प्रस्ताव दर्ता हुन लागेको सुइँको पाएपछि वैशाख १ गते मध्यरातमै मुख्यमन्त्री गुरुङले संसद अधिवेशन अन्त्य गराएका थिए । तर अविश्वासको प्रस्ताव दर्तासँगै तीन दलले विशेष अधिवेशनका लागि प्रदेश प्रमुखसामु समावेदन दिएका थिए ।


