खाद्यले घटायो धान खरिदको कोटा

खाद्यले घटायो धान खरिदको कोटा
Spread the love

काठमाडौं माघ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८२ मा छुट्याइएको कोटा घटाएको छ  । चालु वर्षमा कम्पनीले १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने जनाएको थियो । तर त्यसमध्ये करिब १० हजार क्विन्टल धान खरिद गर्ने कोटा घटाएर करिब १ लाख ८० हजार क्विन्टल मात्रै गहुँ खरिद गर्ने कम्पनीका कार्यकारी प्रमुख रमेश आचार्यले जानकारी दिए । साथै बाँकी १० हजार क्विन्टल गहुँ खरिद गर्ने उनको भनाइ थियो । ‘धान मात्र किनेर नहुने रहेछ । गहुँ पनि खरिद गर्न आवश्यक पर्ने रहेछ करिब १० हजार क्विन्टलजति गहुँ खरिद गर्ने हो,’ उनले भने । किसानले धान बिक्री गर्दा मूल्य नपाएको गुनासो आएपछि खाद्यले केही वर्षयता किसानको धान खरिद गरेर चामल बिक्री गर्दै आएको छ ।चालु वर्षमा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खरिद गरेको जनाएको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३.८१ र मध्यम धानको ३ हजार ६२८.३३ रूपैयाँ तोकेको थियो ।

सोही अनुसार खाद्यले सोना मन्सुली धान र मध्यम धान प्रतिक्विन्टल ३ हजार ६२८.३३ रुपैयाँमा खरिद गरेको छ । यस्तै मोटा धान प्रतिक्विन्टल ३ हजार ४६३.८१ रुपैयाँमा खरिद गरेको छ ।यस्तै आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४१०.५१ रुपैयाँ र मध्यम धानको ३५८०.६२ न्यूनतम समर्थन मूल्य तोकिदिएको थियो । तर उक्त मूल्य अनुसार धान बिक्री नभएको गुनासो आइरहेको थियो । खाद्यले चालु वर्षको धान खरिद २०८२ मंसिर ४ गतेदेखि सुरु गरेको थियो । हाल खरिद कार्य जारी रहेको जनाएको छ । हालसम्म ४६ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ३५ हजार क्विन्टल बराबर धान खरिद गरेको जनाएको छ ।यसमध्ये विर्तामोडबाट ८ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने स्वीकृत गरेको थियो । तर हालसम्म २ करोड ८८ लाख ३१ हजार रुपैयाँ बराबरको ७ हजार ९४६ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ ।
यस्तै विराटनगरबाट १३ हजार क्विन्टल सोना मन्सुली धान खरिदका लागि स्वीकृत गरिएकोमा १ करोड ३० लाख ३५ हजार रुपैयाँ बराबरको १८६०.७९ क्विन्टल, जनकपुरबाट १३ हजार क्विन्टल खरिदका लागि स्वीकृत भएकोमा हालसम्म २ करोड ३० लाख २८ हजार रुपैयाँको ६ हजार ३४६.६६ क्विन्टल, वीरगञ्जबाट २ करोड ६ लाख ८१ हजार रुपैयाँको ५ हजार ६९९.८५ क्विन्टल, सोना मन्सुली धान खरिद गरेको छ । भैरहवाबाट सवाँ धान ५ हजार क्विन्टल स्वीकृत भएकोमा हालसम्म २४९.३५ क्विन्टल खरिद भएको छ। धनगढीबाट ३५ हजार क्विन्टल मोटा धान खरिद गर्ने स्वीकृत भएकोमा १३ करोड ४९ लाख ११ हजार रुपैयाँको ३८ हजार ९४८.७३ क्विन्टल धान खरिद गरेको छ ।

राजापुरबाट मोटा २५ हजार र मध्यम ५ हजार क्विन्टल गरी करिब ३० क्विन्टल खरिदका लागि स्वीकृत गरिएकोमा ९ करोड ७२ लाख ७२ हजार रुपैयाँको २८ हजार ८२.४६ क्विन्टल मोटा र ६९ लाख ६८ हजार हजार रुपैयाँको १ हजार ९२०.५३ क्विन्टल मध्यम धान खरिद गरेको छ । यसैगरी लहानबाट १२ हजार क्विन्टल सोना मन्सुली धान खरिदका लागि स्वीकृत गरिएकोमा र जनकपुरबाट २ हजार क्विन्टल बासमती खरिदका लागि स्वीकृत भएकोमा अहिलेसम्म खरिद गर्न सकेको छैन ।

यस्तै पोखराबाट ५०० क्विन्टल जेठोबुढो धान र जुम्लाको मार्सी ५००/५०० क्विन्टल र अन्य आवश्यकता अनुसार २१ हजार क्विन्टल धान खरिद गर्न स्वीकृत भएकोमा अहिलेसम्म खरिद हुन सकेको छैन ।