ठाकुर र महतो बालुवाटार पुगे, सत्ता सहकार्य बारे छलफल

ठाकुर र महतो बालुवाटार पुगे, सत्ता सहकार्य बारे छलफल
Spread the love

काठमाडौँ, वैशाख ३० (ई-रैवार)

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यको लागि छलफल गर्न पुगेका हुन्।

प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोबीच सत्ता सहकार्यको लागि भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त सरकारका लागि दाबी नगर्ने भएपछि ओली फेरि प्रधानमन्त्री बन्दैछन् ।

पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसँगको चार घण्टा लामो भेटवार्ता सकेर बालुवाटार फर्किएका प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यको लागि छलफल गर्न ठाकुर र महतो त्यहाँ पुगेका हुन्।

आजै एमाले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच चार घण्टा लामो संवाद भएको थियो । एक्लाएक्लै भएको संवाद सहमति नजिक देखिएको नेताहरुले बताएका छन् ।

सत्ता समिकरणमा जसपा ठाकुर पक्ष निर्णायक बनेको छ। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले वैकिल्पक सरकार गठनको लागि प्रयास गर्दापनि ठाकुर पक्षको असहमतिका कारण जसपाले कुनै निर्णय दिन सकेको थिएन । फलस्वरुप कांग्रेसले सरकार बनाउने दाबी नगर्ने निर्णय गरेको छ।

अब राष्ट्रपतिले संविधानको धारा ७६ को ३ अनुसार संसद्को सबैभन्दा ठूलो दलको नेताको हिसाबले ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नेछिन् । प्रधानमन्त्रीले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अल्पमतको सरकारमा सहभागी हुनको लागि ओलीले ठाकुर महतो पक्षलाई आग्रह गरेको बुझिएको छ ।