काठमाडौं, वैशाख १३ (ई-रैवार)
भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख ५४ हजार ५३१ जनामा कोरोना संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।
पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार पाँचौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको हो ।यसअघि (आइतबार ) वैशाख १२ मा भारतमा दोस्रो धेरै ३ लाख ४९ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको थियो ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ करोड ६९ लाख ६० हजार १७२ पुगेको तथ्यांक छ । भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख १४ हजार ५४४ छ ।
तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा पछिल्लो चौबीस घण्टामा २ हजार ७६७ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट हाल सम्म मृत्यु हुनेको संख्या १ लाख ९२ हजार ३११ पुगेको छ ।
कोरोना नियन्त्रणका लागि भारतले कोरोना अति प्रभावित क्षेत्रमा लकडाउन गरेको छ । तर पनि संक्रमण उच्च स्तरमा फैलिरहेको छ । कतिपय अस्पतालमा अक्सिजन नपाएर संक्रमितहरु छटपटाइरहेका दृश्यहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरिरहेका छन् ।
विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ ।


