ओलीलाई बामदेवको जवाफ- त्यसोभए म तपाईंसँग आउन सक्दिन

ओलीलाई बामदेवको जवाफ- त्यसोभए म तपाईंसँग आउन सक्दिन
Spread the love

काठमाडौं, वैशाख १० (ई-रैवार) 

नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी काममा फर्कन गरेको प्रस्ताव उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गरेका छन्। विहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीसँग भएको डिनर मिटिङमा उपाध्यक्ष गौतमले अस्वीकार गरेका हुन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले गौतमलाई पार्टी काममा फर्किनका लागि आग्रह गरेका थिए । उक्त प्रस्ताव गौतमले अस्वीकार गरेको ओलीसँगै रहन नसक्ने जवाफ गौतमले दिएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।

उपाध्यक्ष गौतमले नेकपा एमालेका नाममा भएका अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरे पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अस्वीकार गरेको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए ।

‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईले गर्नुभएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो।

आफूले ओलीसँग बैठकमा आउन सक्दिन भनेर जवाफ दिएको गौतमको भनाइ छ । गौतमले भने, ‘त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भए ।’ गौतमको भनाई उद्धृत गर्दै सुवेदीले लेखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुइ नेताको डिनर मिटिङमा कानूनमन्त्री लीलानाथ श्रेष्ठ र एमाले प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए ।