विपक्षीको बहुमत पुगेन, आजै राति ओली नै प्रधानमन्त्री नियुक्त हुने

विपक्षीको बहुमत पुगेन, आजै राति ओली नै प्रधानमन्त्री नियुक्त हुने
Spread the love

काठमाडौँ, वैशाख ३० (ई-रैवार)

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले बहुमतको सरकारको दाबी नगर्ने निष्कर्ष निकालेपछि पुनः केपी ओली नै प्रधानमन्त्री नियुक्त हुने भएका छन्। काँग्रेस– माओवादी-जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने भएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्रले गठबन्धन सरकार बन्ने सम्भावना सकिएको निष्कर्ष निकालेका छन् । आफ्नै निवास बुढानिलकण्ठमा आज पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएर देउवाले बहुमत पुग्ने अवस्था नदेखिएकोले सरकारको दाबी नगर्ने निष्कर्षमा आफू पुगेको बिफ्रिङ गरेका छन्।

माओवादी केन्द्रको स्थायी समिति बैठकले पनि सरकार बहुमतको सरकार गठनको सम्भावना सकिएको निष्कर्ष निकालेको थियो । बहुमत पुग्ने परिस्थिति नबनेपछि काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि दाबी गर्न नहुने निष्कर्षमा पुगेका हुन् ।

काँग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४८ गरी १०९ सांसद छन् । जसपाको ३२ (दुई निलम्बित) सांसद दुई भागमा विभाजित छन् । सिंगो जसपाको सहयोगका लागि आज विहान देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका थिए । तर ठाकुर र महतोले सरकार निर्माण साथ दिन नसकिने बताएपछि देउवालाई बहुमत जुटाउन सम्भव नभएको हो ।

जसपाको ठाकुर पक्षले सरकार निर्माण तटस्थ बस्ने जनाएकाले अब कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली नै फेरि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएको छ । ओलीले प्रधानमन्त्रीमा नियुक्त भए ३० दिनभित्र अर्थात असार ३० गतेभित्र बहुमत सिद्ध गर्नुपर्छ ।

उता संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन नेकपा एमालेको विवादमा नयाँ ट्वीस्ट आएसँगै वैकल्पिक सरकार गठनको सम्भावना सकिएको छ ।

बिहीबार विहानै स्थायी कमिटीको बैठक राखेर चार नेतामाथि गरेका कारबाही फिर्ता लिएका अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसँग झण्डै साढे ४ घण्टा वार्ता गरे ।

२८ फागुनयता अध्यक्ष ओलीले गरेका निर्णयहरु फिर्ता गर्नुपर्ने र २ जेठ २०७५ मा फर्किनुपर्ने नेपाल समूहको शर्तलाई सम्बोधन गर्ने गरी कार्यदल बनाउन अध्यक्ष ओली सहमत भएपछि नेपालका सांसदहरुले राजीनामा दिएनन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भएको वार्ता सहमति नजिक पुगेपछि माधव नेपालले राजीनामा टरेको बताएका छन्। एमाले नेता नेपाल पक्षका कम्तिमा २० बढी सांसदले राजीनामा दिए नयाँ सरकार बनाउन बहुमत पुग्ने अपेक्षामा कांग्रेस थियो।

गत सोमबार नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएका थिए। विश्वासको मत लिँदा नेपाल पक्षको बहिष्कारका बीच ओलीले ९३ मत मात्र पाएका थिए । उनको विपक्षमा १२४ र १५ मत तटस्थको पक्षमा खसेको थियो ।

एमाले विवाद सहमति नजिक पुगेकाले असारमा पार्टीका १२१ सांसदसहित ओलीले जसपाको ठाकुर पक्षलाई साथमा लिँदा बहुमत सिद्ध गर्न सक्ने सम्भावना पनि छ ।

फेरि ओली प्रधानमन्त्री !

वैकल्पिक सरकार गठन गर्ने कांग्रेस–माओवादी केन्द्रको प्रयास असफल भएपछि फेरि एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने भएका छन् । २७ वैशाखमा संसदको विश्वास गुमाएसँगै पदमुक्त भएका ओली संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलको नेताका रुपमा प्रधानमन्त्री बन्ने छन् ।

१२१ सांसद भएको एमालेलाई जसपाको महन्थ–राजेन्द्र पक्षले साथ दिए बहुमत त पुग्नसक्छ । तर पार्टी कार्यकारिणी समितिमा महन्थ–राजेन्द्रको बहुमत छैन र, उनीहरुले विश्वासको मत लिने प्रक्रियामा पनि ओलीलाई मत दिएका थिएनन् । यो पक्षका १५ सांसद तटस्थ बसेका थिए ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत पनि संविधानको धारा ७६ (२) अनुसार ओली प्रधानमन्त्री बन्दा गलत नजीर बस्ने बताउँछन् । भन्छन्, ‘एकभन्दा बढी दलको समर्थनमा प्राधनमन्त्री बन्नु भएका उहाँले एक पटक संसदमा विश्वासको मत लिएर असफल भइसकेपछि फेरि ७६(२) अन्तर्गत दाबी गर्नु अनुचित हुन्छ, त्यो अनुसार गरिनु हुन्न ।’