काठमाडौँ, वैशाख ७ (ई-रैवार)
त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले नेदरल्याण्डलाई २०७ रनको विशाल लक्ष्य दिएको छ। राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजत अन्तर्गत मंगलबार नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदैं २०६ रन बनाएको हो।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनायो । ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको हो।
नेपालले टि २० आईमा दोस्रो पटक २ सयमाथिको योगफल बनाएको हो । यसअघि नेपालले गतवर्ष टियुमै १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । जुन नेपालले टि२० आईमा बनाएको सर्वाधिक ठूलो योगफलमा पर्छ ।
पालका ओपनर कुशल भुर्तेल ४६ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६२ रनको योगदान दिए । कुशल भुर्तेलले लगातार तीन अर्धशतक प्रहार गरे । कुशलले १३ औं ओभरको अन्तिम बलमा स्पिनर आर्यन दत्तलाई छक्का साथ ४१ बलमा अर्धशतक पूरा गरेका थिए ।
उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३० बलमा ३ चौका र ५ छक्का सहित आक्रामक ६० रनको योगदान दिए ।
दीपेन्द्रले २८ बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । १६ औं ओभरको पहिलो बलमा दीपेन्द्रले कप्तान पिटर शिलारलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । दोस्रो ओभरको अन्तिम बलमा तीव्र गतिका बलर भिभिन किंगमाको बलमा आसिफ मिडअनमा बेन कुपर बाट शून्यमा क्याच आउट हुन पुगेका थिए । यस अघि आसिफ र कुशल भुर्तेलले लगातार दुई शतकीय साझेदारी गरेका थिए ।
दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले ४३ रनको साझेदारी गरेका थिए । कप्तान तथा स्पिनर पिटर सिलारको बलमा ठूलो सट खेलेका ज्ञानेन्द्र डीप मिडविकेटमा बास डी लिडबाट २० रनमा क्याच आउट हुन पुगेका थिए ।
ज्ञानेन्द्रले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे । तेस्रो विकेटका लागि दीपेन्द्र र कुशल भुर्तेलले ७८ रनको साझेदारी गरेपछि नेपालले विशाल योगफल बनाएको हो । कुशल मल्ल ७ बलमा ३ छक्का सहित १८ रनमा क्याच आउट भए । सोमपाल कामी १३ बलमा २ चौका र १ छक्का सहित २१ रनमा अविजित रहे । विनोद भण्डारी ७ रनमा अविजित रहे ।
कप्तान पिटर शिलारले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । भिभिन किंग्माले ओभरमा रन खर्चेर विकेट लिए । आर्यन दत्त र बास डी लिडले १–१ विकेट लिए ।


