डोटी, वैशाख ८ (ई-रैवार)
भारतबाट फर्किएर घरमै बसेका डोटीका युवकको मृत्यु भएको छ । भारतको गुजरातबाट ११ दिनअघि फर्किएका डोटीको दिपायल सिलगढी नगरपालिका–१ घटालीका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
संगै काम गरिरहेका ती युवकका दाईको कोरोना संक्रमणका कारण गत शनिबार भारतमा मृत्यु भएको बताइएको छ । दाजुको मृत्युपछि घर फर्किएका ती युवकको पनि कोरोनाकै कारण मृत्यु भएको आशंका गरिएको छ ।
ती युवकको मृत्यु पछि घटाली गाउँ त्रसित बनेको स्थानियले बताएका छन् । सामान्य स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट बढेको र मंगलबार आफ्नै घरमा उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।
पछिल्लो समय मृत्युपछि स्वाब परीक्षण नगर्ने मन्त्रालयको निर्देशन रहेकोले स्वाब परीक्षण नहुने स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । ती युवकको बुधबार दाहसंस्कार गरिने प्रहरीले जनाएको छ ।


