जोखिम न्यूनीकरणका लागि प्रशासनले हप्तामा दुई दिन स्थानीय तहगत सेवा दिने

जोखिम न्यूनीकरणका लागि प्रशासनले हप्तामा दुई दिन स्थानीय तहगत सेवा दिने
Spread the love

 

कञ्चनपुर, साउन १६ (ई-रैवार)

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि प्रशासनले हप्तामा दुई दिन स्थानीय तहगत रुपमा नागरिकलाई सेवा दिने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि फरकफरक बारमा र फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिने भएको हो ।

कोरोना भाइरसको संक्रमण रोक्न भौतिक दुरी कायम गर्नुपर्ने र कार्यालयमा सेवाग्राहीको चाप समेत बढ्न थालेपछि स्थानीय तह अनुसार समय निर्धारण गरी सेवा दिन लागिएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए । साउन १८ गते आइतबार देखि अर्को व्यवस्था नभएसम्म लागु हुने गरी जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै स्थानीय तहगत रुपमा तालिका सार्वजनिक गरेको छ ।

सूचनामा उल्लेख भए अनुसार, भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका वासिन्दालाई आइतबार र सोमबार, कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिकाका वासिन्दालाई मंगलबार र बुधबार, वेदकोट नगरपालिका, माहाकाली नगरपालिका र बेलडाँडी गाउँपालिकाका वासिन्दालाई बिहीबार र शुक्रबार सेवा प्रवाह गरिने छ ।

शान्ति सुरक्षाको निवेदन तथा कानुन बमोजिम हुने मुद्दा सम्बन्धीका कार्यहरु भने कार्यालय खुल्ने हरेक दिनमा हुने जनाइएको छ । सेवा लिन आउने सेवाग्राहीहरुले कोरोना भाइरस रोकथामका लागि अपनाउनु पर्ने सम्पूर्ण सुरक्षा उपायहरु अनिवार्य अवलम्बन गर्नुपर्ने सूचनामा उल्लेख छ ।