काठमाडौं, वैशाख ६ (ई-रैवार)
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संसदको चालू अधिवेशन आज अपराह्न १ बजेबाट अन्त्य गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले संसद् अधिवेशन अन्त्यबारे सभामुखलाई पठाएको पत्रमा भनिएको छ, “नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/०१/०६ को सिफारिसमा प्रतिनिधि सभाको चालु अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपराह्न १ बजेदेखि अन्त्य गरेको छु ।”
संसद अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषदको सोमबारको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंह सरकारले हठात् संसद स्थगित गरेर संसदको मानमर्दन गरेको टिप्पणी गरे । संसद् अधिवेशन अन्त्यपछि बाह्रखरीसँग कुरा गर्दै उनले सरकारले संसद् फेस गर्न नसकेकाले त्यसबाट भाग्न अधिवेशन अन्त्य गरेको बताए ।
“संसद फेस गर्न नसकेर सरकारले पटक—पटक संसदमाथि प्रहार गरेको छ । यस्तो अलोकतान्त्रिक कदम उठाउने सरकारले फेरि पनि संसदीय व्यवस्थामाथि अर्को प्रहार गरेको छ,” उनले भने ।
पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो ।
सभामुख सापकोटाले वैशाख ७ गते संसद् बैठक आह्वान गरेका थिए । तर, सरकारले सभामुखसँग छलफल नै नगरि संसद् बैठक अन्त्यको सिफारिस गरेका हुन् । जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले बर्खे अधिवेशन चाँडै आह्वान हुने बताइएको छ ।


