बडादशैँको आज पाँचौँ दिन : स्कन्दमाताको विशेष पूजा गरिदै

बडादशैँको आज पाँचौँ दिन : स्कन्दमाताको विशेष पूजा गरिदै
Spread the love

काठमाडौँ, कार्तिक ५  (ई-रैवार) 

आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ ।

सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु-सम्पन्न हुने धार्मिक विश्वास छ।स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौँ दिन यीनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ।

चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ।

आजको दिन राजधानीका गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकालीलगायतका मन्दिर र शक्तिपीठहरुमा पूजाअर्चना गरिन्छ। दसैंको पहिलो दिन घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने धार्मिक परम्परा रहि आएको छ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ।

स्कन्दमाताको पूजा विधि

सबैभन्दा पहिले एउटा काठको चौकोशमा स्कन्दमाताको प्रतिमा स्थापित गर्नुपर्दछ । त्यसपछि गंगा जल या गोमूत्रद्वारा सो चौकोशलाई शुद्धीकरण गर्नुपर्दछ । चौकोशमा चाँदी, तामा या माटोको घडामा जल भरेर त्यसमा कलश स्थापना गर्नुपर्दछ । सो चौकोशमा श्रीगणेश, वरुण, नवग्रह, षोडश मातृका (१६ देवी), सप्त घृत मातृका (सात सिन्दूरको टीका लगाएका) को स्थापना समेत गर्नुपर्दछ ।

त्यसपछि व्रत, पूजनको संकल्प लिनु पर्दछ । वैदिक एवं सप्तशती मन्त्रद्वारा स्कन्दमातासहित समस्त स्थापित देवताहरुको षोडशोपचार पूजा विधिद्वारा पूजा गर्नुपर्दछ । यसमा आवाहन, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, सौभाग्य सूत्र, चन्दन, सिंदूर, दुबो, बेलपत्र, आभूषण, पुष्प हार, सुगन्धित द्रव्य, धूप, दीप, नैवेद्य, फल, पान, दक्षिणा, आरती, प्रदक्षिणा, मन्त्र पुष्पाञ्जलि आदि गरे पश्चात प्रसाद वितरण गरी पूजा सम्पन्न गरिन्छ ।