काठमाडौं, चैत ३० (ई-रैवार)
मन्त्रिपरिषद्को नियमित बैठक आज साँझ ५ बजे बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमति बैठक बोलाएका हुन् ।
आजको बैठकमा देशमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै केही निर्णय हुनसक्ने बताइएको छ । पछिल्लो समय कोरोनाको दोस्रो लहरले भारतमा नागरिकलाई आक्रान्त बनाइरहेका बेला नेपाल पनि उच्च जोखिममा परेको छ। पछिल्लो समय नेपालमा पनि कोभिडको नयाँ भेरियन्ट आएकाले जोखिम बढेको विश्लेषण गरिएको छ।
कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले स्वास्थ्य मन्त्रालयले आम सर्वसाधारणलाई भीडभाडमा नजान, सकेसम्म घरबाहिर ननिस्कन र निस्कनैपरे सतर्कता अपनाउन, स्वास्थ्यका मापदण्ड पालना गर्न, रात्रिकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न आग्रह गरिसकेको छ ।
त्यसैगरी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कोरोना जोखिम नियन्त्रणका लागि संक्रमण बढी देखिएका ठाउँका विद्यालय कम्तीमा तीन साता बन्द गर्नेसहित ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ।
यसै विषयमा निर्णय लिन आज (सोमबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दैछ। बैठकमा कोरोना संक्रमणको जोखिमलाई लिएर सरकारले ठोस कदम चाल्ने कदम आँकलन गरिएको छ।


