कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्‍चितकालका लागि स्थगित

कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्‍चितकालका लागि स्थगित
Spread the love

काठमाडौं, चैत ३० (ई-रैवार) 

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको हो ।

आजको बैठकमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणबारे छलफल गर्ने कार्यसूचि थियो । कांग्रेसको सोमबार दिउँसो २ बजे बोलाइएको बैठक अनिश्‍चितकालका लागि स्थगित गरिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिएका छन् ।

केन्द्रीय सदस्य साउदले भने,  “आज बस्‍ने बैठक स्थगित भएको छ । अर्को बैठकको मिति तय भएको छैन ।”

यसअघि चैत २७ गते बस्‍ने भनिएको बैठक चैत ३० सम्मका लागि स्थगित गरिएको थियो । सोमबारको बैठकमा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणको समयावधि बढाउने कार्यसूची रहेको थियो

कांग्रेसले यसअघि चैत १० गतेसम्म क्रियाशील सदस्यता नवीकरण र वितरण गरी केन्द्रमा जानकारी दिन निर्देशन दिए पनि विभिन्न जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता वितरण गर्न सकेका छैनन् ।

चैत २० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सम्पन्न गर्ने कार्यतालिका बनाए पनि काम सम्पन्न हुन सकेको छैन ।