जसपा संसदीय दलको बैठक बस्दै, दलको नेता चयन हुने

जसपा संसदीय दलको बैठक बस्दै, दलको नेता चयन हुने
Spread the love

काठमाडौँ, फागुन २८ (ई-रैवार) 

प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको बैठक बोलाएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले शुक्रबार संसदीय दलको बैठक बोलाएको हो ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी, नेपालबीच एकीकरणपछि जसपा नामक दलको दोस्रो पटक संसदीय दलको बैठक बस्न लागेको हो । दिउँसो १ बजे बोलाइएको दलको बैठकले दलको विधान पारित गर्ने र नेता चुन्ने भएको छ ।

मंगलबार पहिलो पटक बसेको बैठकमा संसदीय दलको बैठकमा दलको नेता चयन र दलको विधान तयारका लागि मस्यौदा वितरण गरिएको थियो । जसपा स्रोतका अनुसार बैठकबाट वरिष्ठ नेता राजेन्द्र महतो दलको नेता चयन हुने भएका छन् ।

तत्कालीन समाजवादी पार्टी र राजपाबीच पार्टी एकीकरणकै समयमा नेता महतोलाई दलको नेता चयन गर्ने आन्तरिक सहमति भएको थियो । सोही सहमतिलाई कार्यान्वयन गर्दै बैठकले उनलाई दलको नेता चयन गर्ने तयारी रहेको जसपा स्रोतले जनाएको छ ।

“हामी बीच पार्टी एकीकरणकै समयमा राजेन्द्र महतोजीलाई दलको नेता बनाउने आन्तरिक सहमति भएको थियो । त्यही सहमतिअनुसार सहमतिमै उहाँलाई दलको बैठकबाट नेता चयन गर्छ,” स्रोतले भन्यो, “संसदीय दलको विधान पनि पारित गर्ने कार्यसूची छ ।” दुई पार्टीबीच गत वैशाख ११ गते एकीकरण भएको थियो ।