एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बोलायो

एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बोलायो
Spread the love

काठमाडौँ, फागुन २८ (ई-रैवार)

नेपाल कम्युनिस्ट पार्टी एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले केन्द्रीय कमिटी बैठक चैत १ गते बस्नेगरी बोलाएको हो ।

एमालेका सचिव प्रदीप ज्ञवालीका अनुसार सर्वोच्चको फैसलासँगै साविकको एमाले ब्युतिएपछि पहिलो बैठक बस्न लागेको हो । ज्ञवालीले भने ‘आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै एकीनका साथ भन्न सकिन्छ ।’

वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बिहीबारको भेलाले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तत्काल बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ ।

केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।

एमाले केन्द्रीय कमिटीमा हाल २०३ सदस्य कायम छन् । यसअघि गुटगत भेला भएका थिए ।