काठमाण्डौँ, फागुन १२ (ई-रैवार)
नेकपा दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन् ।पुष्पकमल दाहाल र माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठ पुगेर सहकार्यको प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ ।
भेटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले नेपाली कांग्रेससँग फेरि सत्ता सहकार्यका लागि प्रस्ताव गरेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेर नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सत्ता सहकार्यका लागि प्रस्ताव गरेका हुन् ।
अध्यक्षद्वय प्रचण्ड र नेपालले सभापति देउवासँग सँगै मिलेर जाने प्रस्ताव गरेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । “समसामयिक राजनीतिका बारेमा छलफल भयो । उहाँहरुले पछिल्लो राजनीतिक घटना क्रममा मिलेर जान प्रस्ताव गर्नुभयो,” उनले भने, “अब सहकार्य गरेर अगाडि जाऔं भन्ने उहाँहरुको आशय थियो ।”
जवाफमा सभापति देउवाले नेकपाले गरेको प्रस्तावका बारेमा पार्टीमा छलफल गरेर जवाफ दिने प्रतिक्रिया दिएका छन् । “सभापतिज्यूले उहाँहरुलाई सहकार्यको प्रस्तावका बारेमा पार्टीमा छलफल गर्छु । पछि फेरि बसेर कुरा गरौंला भन्नुभयो,” उनले भने ।
स्वकीय सचिव देउवाले बिहीबार पदाधिकारी बैठक बसेर नेकपाले गरेको प्रस्तावका बारेमा छलफल हुने पनि जानकारी दिए ।
“भोलि पदाधिकारी बैठक बसेर यो बारेमा छलफल हुन्छ,” उनले भने । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरेपछि प्रचण्ड र नेपाल बुधबार दिउँसो बूढानीलकण्ठ पुगेका थिए । उनीहरुका बीचमा झण्डै आधा घण्टा छलफल भएको थियो ।


