काठमाडौं, भदौ २८ (ई-रैवार)
प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने भएका छन् । संसद्को गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको हो।
सभामुख सापकोटाले प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीलाई व्यक्तिगत पत्र पठाएका थिए । आज दिउँसो बस्ने बैठकमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेता सहभागी हुने बताइएको छ । ओली सभामुखले बोलाएका कुनै बैठकमा जाने गरेका छैनन् ।
सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले २३ गतेबाट सुरु भएको संसद् बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ । पार्टीले १४ जना सांसदलाई कारबाही गरेको सूचना नटाँसेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ ।
सभामुखले सोमबार दिउँसो २:३० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय छलफल बोलाएका छन्। सर्वदलीय छलफलमा संसद्को गतिरोध अन्त्यसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ।


