नरभक्षी बाघ मार्न स्थानीय प्रशासनको आदेश

नरभक्षी बाघ मार्न स्थानीय प्रशासनको आदेश
Spread the love

धनगढी, ३ फागुन (ई-रैवार) 

कैलालीमा आतंक मचाइरहेको पाटे बाघ मार्न कैलालीको स्थानीय प्रशासनले आदेश दिएको छ। जिल्ला सुरक्षा समिति कैलालीको आइतबार बसेको बैठकले सुरक्षाकर्मीलाई बाघलाई नियन्त्रणमा लिन सशस्त्र र जनपथ प्रहरीलाई आदेश दिएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले केही दिनयता आफुहरु सो बाघको गतिविधिलाई गम्भीर रुपमा लिएको र व्यवस्थापन गर्न मातहतका निकायलाई परिपत्र गरेको बताएका छन्।

उनले भने, “नरभक्षी पाटेबाघलाई सकेसम्म ‘डार्ट’ गरेर (बेहोस बनाएर) नियन्त्रणमा लिइने हो। नभए मार्नसम्मको कानुनी प्रावधान छ।”

आइतबार गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयाकी २५ वर्षीया कला धामीको सोही बाघको आक्रमणबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएका महिलाहरुमाथि बाघले आक्रमण गरेको थियो। सोही क्रममा स्थानीय धामीलाई आक्रमण गरेको थियो।

डिभिजन वन कार्यालय कैलालीले कैलालीमा मान्छेमाथि आक्रमण गरिरहेको नरभक्षी पाटेबाघको लोकेशन पत्ता लगाउनका लागि क्यामेरा पासो थापिने भएको छ ।

‘सबैभन्दा पहिले बाघको लोकेशन पत्ता लगाउन आवश्यक छ’, डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले भने । ‘आज तीन चार ठाउँमा क्यामेरा राख्ने तयारी भइरहेको छ ।’ बाघलाई बेहोस बनाएर (डार्ट गरेर) नियन्त्रणमा लिनका लागि सबैभन्दा पहिले उसको लोकेशन पत्ता लगाउन जरुरी रहेको कँडेलले बताए।

नरभक्षी बनिसकेको वयस्क पाटेबाघ गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकाका सामुदायिक वनमा घुमफिर गरिरहेको छ । दुधिया, उदासीपुर, बढैपुर, राजिपुर, अण्डैया क्षेत्रमा बाघले मुभमेन्ट गरेको छ । बाघले मुभमेन्ट गरेको क्षेत्र बसन्ता जैविकमार्ग अन्तर्गत पर्दछ ।

गत शुक्रबार कैलारी गाउँपालिका–८ स्थित सीताकुँवा सामुदायिक वनमा दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि बाघले आक्रमण गरेको थियो । विवाहका लागि सालको पात टिप्न गएका चौधरी बाघसंगको जम्काभेटमा घाइते भएका छन् । पिठ्यु र टाउँकोमा बाघले घाउ बनाएको छ । चौधरीको नेपालगञ्जमा उपचार भइरहेको छ ।