काठमाडौँ, जेठ ३ (ई-रैवार)
प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र तथा नेपाली जनताको लागि मदन भण्डारीले पुर्याएको योगदानहरु दूरगामी महत्व र अतुलनीय रहेको बताएका छन् । सोमबार मदन/आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले भण्डारीले पुर्याएको योगदानहरु दूरगामी महत्व र अतुलनीय रहेको बताएका हुन् ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले वक्तव्य जारी गर्दै नेपालको राष्ट्रिय हित रक्षाका लागि भण्डारीले अविचलित अडान राख्दै राष्ट्रियताको आन्दोलनलाई सही ढङ्गले परिभाषित गरेको उल्लेख गरेका छन् ।
ओलीले मदन भण्डारीलाई प्रगतिशील राष्ट्रवादका संवाहकको रूपमा स्मरण गरेका छन् । भण्डारीका तिनै अडान र मान्यताहरु राष्ट्रिय हितको रक्षाका लागि आज पनि उत्तिकै सान्दर्भिक र मार्गदर्शक रहेको ओलीले उल्लेख गरेका छन्। भण्डारीलाई ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको धरोहरको रूपमा समेत चित्रित गरेका छन् ।

तत्कालीन नेकपा (माले) लाई शान्तिपूर्ण आन्दोलनको अग्रणी शक्तिका रुपमा स्थापित गर्दै उहाँले त्यतिबेलाको शक्ति सन्तुलनका आधारमा आन्दोलनको उपयुक्त लक्ष्य, कार्यदिशा र नारा तय गर्न अगुवाइ गर्नुभयो,’ ओलीले वक्तव्यमा भनेका छन्, ‘संयुक्त वाम मोर्चा गठन गर्न पहल गर्नुभयो । एवं, नेपाली काङ्ग्रेसलाई संयुक्त जनआन्दोलनका लागि सहमत गराउन निर्णायक भूमिका खेल्नुभयो।’
‘जबजले लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्न, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण गर्न एवं प्रतिकूलताका बीचमा पनि नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन सफल मार्गदर्शन गरिरहेको छ,’ ओलीले वक्तव्यमार्फत भनेका छन् । भण्डारीले प्रतिबादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) आज नेपाली क्रान्तिको सिद्धान्तका रुपमा स्थापित भएको ओलीले बताएका छन् ।
अध्यक्ष ओलीले आफूहरु कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित रहेको बताएका छन् । जनताको बहुदलीय जनवादको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने प्रधानमन्त्री ओलीले अठोट व्यक्त गरेका छन् ।
ओलीले ३ वर्षअघि नेकपा माओवादी केन्द्रसँगको एकता पनि भण्डारीले देखेको एकीकृत कम्युनिष्ट आन्दोलनको सपना पूरा गर्ने एउटा प्रयास रहेको बताएका छन् । तर कतिपय नेताहरुको विभाजनकारी एवं अस्थिर र अवसरबादी सोचका कारण यो पूरा नभएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गर्दै राष्ट्रियताको सम्बर्द्धन र राष्ट्रिय हितको रक्षाको लागि अविचलित रुपमा क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मारिएका तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा हरेक जेठ ३ गते यो दिवस मनाउने गरिन्छ ।


