एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्ष भर्चुअल बैठक गर्दै

एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्ष भर्चुअल बैठक गर्दै
Spread the love

काठमाडौं, असार २८ (ई–रैवार)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओलीले आज अपरान्ह ५ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएका हुन ।

विवाद समाधान गर्न गठित कार्यदलले आइतबार १० बुँदे सहमति गरेको थियो। त्यो सहमतिलाई स्थायी कमिटीले अनुमोदन गर्ने तयारी रहेको स्रोतले बताएको छ।

सहमतिप्रति नेता माधवकुमार नेपाल पक्षका नेताहरुमा असन्तुष्टि बढेको छ । वरिष्ठ नेता नेपाल आफैँले पनि अदालतमा विचाराधीन मुद्दा प्रभावित हुने गरी कार्यदलको सहमतिलाई गलत रूपमा व्याख्या गर्न नहुने बताइरहेका छन्।

नेता नेपालले आज बिहान मात्रै अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानि गर्ने व्याख्या मान्य नहुने बताएका छन् । एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूह प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीका पछिल्ला कदमप्रति आन्दोलित छ ।

यसबारे नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आजै भर्चुअल रूपमा हुने नेताहरूले बताएका छन्। पार्टीलाई पुरानै संरचनाअनुसार अघि बढाउनेलगायत १० बुँदामा कार्यदलबीच सहमति जुटेको थियो।

एमालेले आइतबार पनि स्थायी कमिटी बैठक बोलाए पनि अन्तिम समयमा आएर आजसम्मका लागि स्थगित गरिएको थियो।