धनगढी, कार्तिक ५ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटवार्ता गरेका छन्। मुख्यमन्त्री भट्ट र प्रदेश सरकारका मन्त्रीहरुको सहभागितामा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरिएको हो।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्ट सहित मन्त्री हरुले वर्षापछिको प्राकृतिक विपद्बाट उत्पन्न परिस्थितिका बारेमा प्रधानमन्त्री देउवासँग धनगढीमा छलफल गरेका हुन ।

छलफलका क्रममा बाढी, पहिरो डुबान प्रभावित जिल्ला तथा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माण लगायतको कामका लागि राहतका प्याकेज ल्याउन प्रधानमन्त्री देउवालाई सुझाव दिएको प्रदेश सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिईन ।
“प्रदेशका विभिन्न जिल्लामा उत्पन्न विपद्ले निम्त्याएको अवस्थाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका छौँ”, मन्त्री जोशीले भनिन्- “विपद्लाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्ने सुझाव पनि दिएका छौँ ।”
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति पुगाएको जानकारी गराउँदै प्रधानमन्त्रीसँग संरचना पुनर्निर्माण र पीडितलाई राहत तथा क्षतिपुर्ति दिन माग गरेको बताएका छन् । उनले प्रधानमन्त्री देउवासँग राहत वितरण तथा संरचना पुनर्निर्माणमा तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने बताएका थिए।
प्रदेश सरकारले संघ सरकारसँग साझेदारी गरेर काम गर्ने र छिटो भन्दा छिटो काम थाल्न प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको मुख्यमन्त्री भट्टले बताए। सो अवसरमा प्रधानमन्त्री देउवाले आफू काठमाडौँ फर्किएपछि विपद्ले उत्पन्न गराएको समस्या समाधानका बारेमा योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएको मुख्यमन्त्री भट्टले बताए ।
प्रधानमन्त्री देउवाले वर्षासँगै उत्पन्न बाढी, पहिरो, डुबानबाट डोटी, बझाङ, बैतडी, डडेलधुरा कञ्चपुर र कैलाली जिल्लामा भएको क्षतिको स्थलगत निरीक्षण अवलोकन गरेर आज काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री देउवाको नेतृत्व टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्री एनपी साउँद, रमेश लेखक, वीरबहादुर बलायर सहभागी थिए ।
यही असोज ३१ गतेदेखि तीन दिनसम्म भएको अविरल वर्षाका कारण भएको बाढी, पहिरो डुबानको समस्याका कारण प्रदेशमा आज बिहानसम्म ३३ जनाको मृत्यु भएको छ । २२ जना बेपत्ता छन् । १७ घरमा पूर्ण क्षति पुगेको छ ।
तराई क्षेत्रका कैलाली र कञ्चनपुर जिल्लामा भएको डुबानले हजारौँ परिवार विस्थापित भएका छन् भने ठूलो क्षेत्रफलका जग्गामा गरिएको धानबाली नष्ट भएको छ ।


