धनगढी पुस २८ (ई-रैवार)
सुदूरपश्चिमकी चेली गौरिका उत्कृष्ट महिला वर्ष खेलाडी घोषित भएकी छन् । १३ औं सागमा ४ वटा स्वर्ण, २ रजत, ३ कांस्य जितेकी पौडी खेलाडी गौरिका सिंह यस वर्षको उत्कृष्ट महिला खेलाडी भएकी हुन ।
मंगलबार आयोजित १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा सुदूरपश्चिमकी चेली गौरिका उत्कृष्ट महिला वर्ष खेलाडी घोषित भइन् । उनले १५० सीसीको पल्सर मोटरसाइकल पनि पाइन् ।
१७औं सागमा एकै प्रतियोगितामा सर्वाधिक पदक जित्ने खेलाडीको कीर्तिमान गौरिकाको नाममा छ । यो विधामा तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, करातेकी अनु अधिकारी र ट्रायथोलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए ।

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा तेक्वान्दोकी आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित गरेका छन् । शाक्य सुदूरपश्चिमकी हुन् ।
मञ्चले गत वर्ष गरेको प्रदर्शनको आधारमा उनीहरुलाई स्पेशल अवार्ड प्रदान गरेको छ । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा आयशाले दोहोरो स्वर्णपदक जित्दै इतिहास रचेकी थिइन् । यस्तै उनले आठौं बृहत राष्ट्रिय खेलकुदमा कास्य जितेकी थिइन् ।
यस्तै सन्तोषीले १३औं सागमा १० हजार मिटर दौडमा भारतीय खेलाडीलाई १ मिलिसेकेन्डले पछि पार्दै स्वर्ण जितेकी थिइन् । साग इतिहासमा एथलेटिक्सबाट स्वर्ण पदक जित्ने सन्तोषी पहिलो नेपाली हुन् ।
सन्तोषीले आठौं खेलकुदमा ५ हजारमा स्वर्ण, १५ सयमा रजत र १० हजार मिटरमा कास्य जितेकी थिइन् । वीर गणेशमान सिंह १० किमि रोड रेसमा स्वर्ण र नेवा च्यारिटी धरान १० किमि रनमा स्वर्ण र कान्तिपुर हाफ म्याराथनमा रजत जितेकी थिइन् ।


