काठमाडौं, कार्तिक ११ (ई-रैबार)
प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइसक्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य अनुसार खोपको व्यवस्थापन गर्न पनि निर्देशन दिएका हुन ।
आज भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना खोपको अभाव हुन नहुने बताएका हुन्। खोप खरिद गरेर भए पनि चैतभित्र सबैलाई पूर्ण मात्रामा लगाइसक्नुपर्ने उनले बताएका छन् ।
प्रधानमन्त्री देउवाले नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने बताए । ‘दाताहरुसँग पनि खोप मागौं । आग्रह गरौं । हामी आफैं पनि खरिद गरौं तर खोपको कमी हुन नदिऊँ, देउवाले भने, ‘नागरिकलाई निशुल्क खोप लगाउने व्यवस्था गरौं ।’
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण र खोप वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेले बताए ।
‘प्रधानमन्त्रीज्यूले कोरोना नियन्त्रण र खोप वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । साथै सबै नागरिकले खोप लगाउन पाउने अवस्था होस् । कोरोना खोपमा कमी नहोस् भनेर प्रधानमन्त्रीले विशेष निर्देशन दिनुभयो,’ सचिव न्यौपानेले भने ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म कूल जनसंख्याको ३४ प्रतिशतले पहिलो मात्रामा खोप लगाइसकेका छन् भने दोस्रो मात्राको खोप जम्मा २२ प्रतिशतले मात्रै लगाएका छन्।
अमेरिकाबाट एक लाख डोज फाइजर खोप नेपाल आइसकेको छ । अमेरिकाबाटै ४० लाख मोडर्ना, थप ४० लाख फाइजर र चीनबाट ४० लाख भेरासेल खोप आउन पाइपलाइनमा रहेको जानकारी स्वास्थ्य मन्त्रालयले गराएको छ । माल्दिभ्स, क्यानडालगायतका मुलुकबाट पनि नेपालमा कोरोना खोप आउने सरकारको भनाई छ ।


