नेकपा सचिवालय बैठक : प्रधानमन्त्री ओली आजको बैठकमा नजाने

नेकपा सचिवालय बैठक : प्रधानमन्त्री ओली आजको बैठकमा नजाने
Spread the love

काठमाडौं,मंसिर १७ (ई-रैवार)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको छ । हिजोको सचिवालय बैठकमा विवाद भएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आजको बैठक बहिष्कार गर्ने बालुवाटार निकट स्रोतले जनाएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल गर्न नपाइने अडान राखेका ओलीविरुद्ध सचिवालयका बहुसंख्यक सदस्य उभिएपछि उनले बैठक बहिष्कार नै गर्न लागेका हुन् । ओलीको सचिवालयले भने प्रधानमन्त्रीको पूर्वनिर्धारित कार्यक्रम रहेकाले आजको बैठकमा नजाने बताएका जनाएको छ ।

हिजोको बैठकमा अध्यक्षद्वयका प्रतिवेदनमा छलफल सुरु भएको छ । बैठकमा छलफल नै गर्न नदिनेगरी प्रस्तुत भएका ओलीले बैठकको अन्तिममा आफूले भनेको नमान्ने बैठकको काम नभएको भन्दै बाहिरिएका थिए । असन्तुष्टि जनाउनका लागि उनले आजको बैठकमा नजाने बताएका उनी निकट एक नेताले जानकारी दिए ।

के नेकपा विभाजनकै बाटोमा अघि बढेको हो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधिवत्रूपमै विभाजनको बाटोमा अग्रसर भएको छ । कात्तिक २८ गतेदेखि पेस भएका कार्यकारी अध्यक्षको प्रस्तावमाथि छलफल गर्ने कि नगर्ने भनेर पार्टी प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की परेपछि नेकपा अब फुटको बाटोमा बढेको चर्चा हुन थालेको छ ।

स्रोतका अनुसार मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले दसदिन सचिवालय बैठक रोक्न माग गरेका थिए । तर, बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने र प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने अडान लिएपछि ओलीले यस्ता बैठकको कुनै औचित्य छैन भनेर उठेको स्रोत बताउँछ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार आजको बैठकमा ओली उपस्थित हुने सम्भावना न्यून छ । “भोलि बैठक राख्ने हो भने म उपस्थित हुन भ्याउन्न भनेर प्रधानमन्त्रीले भनिसक्नुभएको छ,” प्रधानमन्त्रीको सचिवालय भन्छ ।

नेकपाका एक सचिवालयले दिएको जानकारी अनुसार आज ओली उपस्थित नभए पनि बैठक भने रोकिने छैन । विधानको धारा ६० अनुसार प्रक्रियाबाट विषयहरू टुङ्ग्याउने र सचिवालयमा पेस भएको सबै दस्तावेज स्थायी कमिटीमा लैजाने पक्षमा बहुमत सदस्यहरू छन् । यसले विधिवत् फाटो ल्याउने नेकपाका नेताहरू बताउँछन् ।

मङ्गलबारको सचिवालय बैठक चर्काचर्कीमा परिणत भएपछि बिहीबारको स्थायी कमिटी अन्यौलग्रस्त बनेको छ । मङ्सिर ३ गते बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी र २५ गतेका लागि केन्द्रीय कमिटी तय गरेको थियो ।

तर, आजको सचिवालय बैठकमा ओली उपस्थित नभए स्थायी कमिटी बैठकमात्रै होइन नेकपाकै भविष्य अनिश्चित हुने नेकपाका नेताहरू बताउँछन् । आजको बैठक दिउँसो १ बजे बालुवाटारमा तय गरिएको छ ।