कम्पनीको पासवर्ड ह्याक गरी ३५ लाखको हवाई टिकट ठगी

कम्पनीको पासवर्ड ह्याक गरी ३५ लाखको हवाई टिकट ठगी
Spread the love

काठमाडौं,जेठ । काठमाडौंको सी लिङ्क्स होलिडेज नामक ट्राभल एजेन्सीमा विभिन्न एयरलाइन्सले आफूले काट्दै नकाटेका ३५ लाख रुपैयाँको टिकटको बिल पठाए । ती बिल पनि नेपालबाट हवाई यात्राका लागि काटिएका थिएनन् । भारत, चीन, कतार, यूएईलगायतबाट इराक जानका लागि काटिएका थिए । आफूले काट्दै नकाटेका टिकटबापतको बिल आएपछि एयरलाइन्सहरुमा कम्पनीले जानकारी माग्यो । त्यसपछि मात्रै पत्ता लाग्यो, ह्याकरहरुले कम्पनीको लग इन तथा पासवर्ड ह्याक गरी बाहिरैबाट टिकट काटेर ठगी गरेका रहेछन् ।

कम्पनीले यसबारे नेपाल प्रहरीमा उजुरी गरेपछि प्रहरीको साइबर ब्यूरोले मंगलबार नेपाल पर्यटन बोर्डलाई एक पत्र लेख्दै नेपालमा विभिन्न हवाई कम्पनीको टिकट बिक्री वितरण गर्ने ट्राभल एजेन्सीहरुलाई ह्याकरले लक्षित गरी आक्रमण सुरु गरेको भन्दै सचेत गराएको छ ।सी लिङ्क्सका कम्पनीका कानुनी सल्लाहकार अरबिन्द साहका अनुसार सी लिङ्क्सबाट मात्र ३५ लाख रुपैयाँ हाराहारीको हवाई टिकट ह्याकरले सिस्टम ह्याक गरी काटेको पाइएको छ । ह्याकरले लगइन र पासवर्ड परिवर्तन नगरी चलाखीपूर्वक चोरी गरेका थिए ।सामान्यतया हरेक टिकट इस्यू भएपछि एयरलाइन्सबाट इमेल आउने गर्छ,’ उनले भने, ‘तर, खै कसरी हो, इमेल आउने सिस्टम बन्द गराएछन्, एकातिर इमेल नआउने र अर्कोतर्फ पासवर्ड र आईडी नचलाएपछि हामीले सिस्टम ह्याक भएको पत्तै पाएनौं ।’नेपाल प्रहरीका अनुसार ट्राभल कम्पनीलाई लक्षित गरी ह्याकरले फिसिङको माध्यमबाट लगइन नेम र पासवर्डमा अनधिकृत पहुँच पुर्‍याउने र चोरी गरी विदेशको टिकट इस्यू गर्ने घटना बढेको गुनासो आएको छ ।नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स नाट्टाका महासचिव कुमार थपलियाका अनुसार यो बाहेक अन्य कम्पनीबाट समेत सिस्टम ह्याक भएको गुनासो आइरहेको छ । कतिपय टिकट दक्षिण अफ्रिका, नाइजेरियाबाट समेत जारी भएको पाइएको उनले जानकारी दिए । यसरी काटिएका टिकट सक्कली नै हुन्छन् । ह्याकरले सिस्टम लिएर टिकट किनेर त्यस्ता टिकट आफूखुसी बिक्री गर्ने गर्छन् । यात्रुबाट पैसा लिन्छन् । तर, यो रकम नेपाली कम्पनीबाट भने उम्किसकेको हुन्छ । अन्त्यमा एयरलाइन्सबाट बिल मात्र हात पर्छ ।