सुदूरपश्चिम प्रदेशमा थप ६३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ९ सय १० पुग्यो

सुदूरपश्चिम प्रदेशमा थप ६३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ९ सय १० पुग्यो
Spread the love

धनगढी, कार्तिक ३० (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशमा आज थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा ५ सय जनाको कोरोना परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ५ सय ७८ जनाको कोरोना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ३० जनाको परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता कार्कीले बताए ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १७ जनामा संक्रमण देखिएको जानकारी दिए । श्रेष्ठका अनुसार उपमहानगरपालिकाको वडा नम्बर २ का ८ जना, वडा नम्बर ४ का ४ जना, वडा नम्बर ५ का ३ जना, यस्तै वडा नम्बर १, ७ र १६ का २/२ जना, वडा नम्बर ८, १२, १४ र १८ का १/१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ठेगाना नखुलेका ५ जनामा पनि कोरोना पुष्टि भएको छ ।

कैलालीकै टीकापुर नगरपालिकाका ८ जना, गोदावरी नगरपालिका र घोडाघोडी नगरपालिकाका ३/३ जना, र गौरीगंगा नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका २/२ जना, त्यस्तै बेलौरी नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ६० जनाको परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले बताए ।

उता कमलबजार नगरपालिकाको प्रयोगशालामा १० जनाको परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको छ ।

यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ९ सय १० पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ८ हजार ८ सय जनाले कोरोना जितेका छन् भने ४६ जनाको मृत्यु भएको छ ।