दोधारा चाँदनीमा सुक्खा बन्दगाह निर्माण कार्य युद्धस्तरमा अगाडि बढाउँछौँ : मन्त्री भट्ट

दोधारा चाँदनीमा सुक्खा बन्दगाह निर्माण कार्य युद्धस्तरमा अगाडि बढाउँछौँ : मन्त्री भट्ट
Spread the love

कञ्‍चनपुर,कार्तिक १५ (ई-रैवार)

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले महाकाली नगरपालिकाको दोधारा चाँदनीमा सुक्खा बन्दगाह निर्माणको कार्य युद्धस्तरमा अगाडि बढ्ने बताएका छन् । कैलालीको गोदावरी नगरपालिकास्थित निवासमा आज कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भारतसँग अन्तिम छलफल गरी हस्ताक्षर भएपछि निर्माणका लागि बोलपत्र प्रक्रियामार्फत अगाडि बढाइने बताए ।

“दोधारा चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माणका लागि भारतको वन क्षेत्र मात्रै १२ किलोमिटर बढी पर्ने भएकाले भारतले सहमति गर्न मानेन,” उनले भने, “मायापुरीमा सुक्खा बन्दगाह बनाउन भारत सहमत भएको छ । कञ्चभोगमा बस्ती हटाउनुपर्ने थियो । यता बस्ती पनि हटाउनु पर्दैन । बन्दगाह निर्माणका लागि आवश्यक एक हजार बिघा जग्गासमेत छ, यो नै बन्दगाह निर्माणका लागि अन्तिम निर्णय हो ।”

महाकाली नदीमा बन्न लागेको ६ लेनको पुलनजिकैको क्षेत्रमा बन्दगाह निर्माण हुने उनले बताए । सुक्खा बन्दगाहसँग जोडिएको क्षेत्रलाई ‘क्रसबोर्डर इकनोमिक करिडोर’का रूपमा विकास गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे ।

भारतको नयाँदिल्ली नजिक पर्ने भएकाले छोटो मार्गका रूपमा समेत रहेको चर्चा गर्दै उनले ‘एसियन हाइवे’सँग यस क्षेत्रलाई जोड्ने योजनासमेत रहेको बताए । भारतले चक्रपुर हुँदै गडीकोटको भैसाभोज हुँदै पहुँच मार्ग (कनेक्टिभ) दिने भएपछि महाकाली नगरपालिका १ को गौरी सामुदायिक वन क्षेत्रमा सुक्खा बन्दरगाहका लागि प्रक्रिया अघि बढाइन लागेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले गौरी सामुदायिक वनमा स्थलगत निरीक्षणसमेत गरेका छन् ।

रासस