यूईएफए नेसन्स लिग : इंग्ल्यान्ड र बेल्जियम खेल्दै

यूईएफए नेसन्स लिग : इंग्ल्यान्ड र बेल्जियम खेल्दै
Spread the love

एजेन्सी, कार्तिक ३० (ई-रैवार)  

यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए २ अन्तर्गत आज राती इंग्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार रातको १:३० बजे हुनेछ ।

समूहको एक मात्र टोली अर्को चरणमा पुग्ने हुँदा प्रतिस्पर्धा झनै कडा हुने अपेक्षा गरिएको छ । चौथो चरणको खेल सकिँदा अंक तालिकामा बेल्जियम ९ अंकसहित शीर्षस्थानमा छ भने डेनमार्क र इंग्ल्यान्डको समान ७-७ अंक रहेको छ । सबै टोलीले २-२ खेल खेल्न बाँकी रहेको छ ।

बेल्जियमका लागि यस खेलमा स्टार विंगर इडेन हाजार्ड कोरोना संक्रमणका कारण टोलीमा समावेश छैनन् । रियल म्याड्रिडका सहकर्मी थिबाउट कोर्टुवा भने पहिलो रोजाइमा खेल्नेछन् । डिफेन्समा टोबी आल्डरवेरल्ड र जेसन डीनाएरसँग जान भर्टोन्घनले खल्नेछन् । आक्रमणमा रोमेलु लुकाकुलाई केभिन डे ब्रुएन र ड्रिज मर्टेन्सले साथ दिनेछन् ।

यता इंग्ल्यान्डलाई पनि चोट र प्रतिबन्धले छनोटमा केहि समस्या छ । डिफेन्डरद्वय जो गोमेज र ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड चोटका कारण बाहिर रहँदा ह्यारी मगाएर र रिस जेम्सले प्रतिबन्ध भोगिरहेका छन् । पछिल्लो खेलमा विश्राम लिएका कप्तान ह्यारी केन, जोर्डन हेन्डरसन, रहिम स्टर्लिङ र काइल वाल्कर भने यस खेलका लागि फर्केका छन् ।

पछिल्लो भिडन्तमा इंग्ल्यान्डले अन्तिम समयमा पुनरागमन जित दर्ता गरेको थियो । तर घरेलु मैदानमा बेल्जियमलाई हराउन निकै कठिन हुनेछ । टोलीले सन् २०१६ सेप्टेम्बर यता लगातार २७ खेलको अपराजित यात्रा कायम राख्दै आएको छ ।