एमसीसी र सत्ता गठबन्धन फरक विषय हुन् : प्रवक्ता डा. महत

Spread the love

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने,’कांग्रेसले एमसीसी सदनमा लगेर छलफल गरौं भनेको हो । गठबन्धन टुट्नु पर्छ भनेको छैन ।’

उनले सत्ता गठबन्धन र एमसीसी फरक विषय भएकाले एमसीसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको बताए । उनले भने, ‘गठबन्धनको विषय एउटा हो एमसीसीको अर्को विषय हो ।’ एमसीसीमा कुनै देशद्रोह नभएको उनले बताए ।

प्रवक्ता महतले एमसीसी नेपालको हितमा रहेको जनाउँदै भने, ‘नेपालको सडक, विद्युत् ट्रान्समिसन लाइन बन्छ त्यो देश द्रोह हो ? संसद‍्मा पेश गरौं, कमीकमजोरी भए आउँछन् । किन हिच्किचाहट भएको छ ?’

सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै उनले सार्वभौम संसद्को अधिकार हो भने । दलहरूका एमसीसी बारेको स्पष्ट धारणा आउनुपर्ने जनाउँदै उनले भने, “संसद‍्मा एमसीसीका पक्षमा मत हाल्ने हो कि नहाल्ने, बाहिर बस्ने हो कि, भित्र बस्ने ? निर्णय गर्नु पर्‍यो ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास गर्छु भनेर पत्र पठाएको स्मरण गराउँदै उनले भने, ‘प्रचण्डले एमसीसी पास गर्छौं भने सिग्नेचर गरेका हैनन् र ?’

विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसीसी संसद‍्मा लैजान खोजिएको स्मरण गराउँदै प्रवक्ता डा. महतले अहिले सत्ता बाहिर पुगेपछि कुरा नफेर्न एमालेसँग आग्रह गरे । उनले भने, ‘एमसीसीका बारेमा आज एउटा कुरा भोलि अर्को कुरा । आज ठीक भोलि बेठीक । सत्तामा हुँदा ठीक नहुँदा बेठीक यस्तो पनि कुरा हुन्छ ?” रासस