सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
Spread the love

धनगढी, कार्तिक ५  (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । होम आइसोलेसनमै बसिरहेका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीय व्यापारीको मृत्यु भएको हो ।

सेती अस्पताल स्रोतका अनुसार असोज २८ गते कोरोना संक्रमण पुष्टि भएका धनगढी २ का ६८ वर्षीय पुरुषको अवस्था गम्भीर भएपछि उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो ।

उनको शव अहिले सेती अस्पतालमा राखिएको छ भने अर्को ६० वर्षीय व्यापारीको भारतको लखनउमा मृत्यु भएको हो ।  १५ दिन अगाडी सेती अस्पतालमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अवस्था गम्भीर भएपछि उपचारका लागि लखनउ लगिएका उनको सोमबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

यो सँगै धनगढीमा मृतकको संख्या ७ पुगेको छ, भने सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।