सभापति देउवा निवास बूढानीलकण्ठमा तीन दलको बैठक सुरु

सभापति देउवा निवास बूढानीलकण्ठमा तीन दलको बैठक सुरु
Spread the love

काठमाडौं, चैत २७ (ई-रैवार)

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा तीन दलको बैठक सुरु भएको छ । देउवा निवास बूढानीलकण्ठमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को बैठक बसेको हो ।

बैठकमा कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु शशांक कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मालगायत छन् ।

माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी छन् ।

यस्तै, जसपाबाट नेताहरु महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राईलगायत सहभागी छन् । बैठकमा सत्तासमीकरण र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति  देउवाले नयाँ सरकार गठनको लागि कसरत थालेको बताइएको छ । यसअघि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको विकल्प खोज्‍ने र नयाँ सरकार निर्माणका लागि अग्रसरता लिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार कांग्रेसले नयाँ सत्ता समीकरणको तयारीका लागि तीन दलको निर्णयबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड देउवासँग छलफलकै लागि बिहीबारै सुर्खेतबाट हतारहतार काठमाडौं आएका हुन् । माओवादीले ओलीलाई हटाउने वा नहटाउनेबारे प्रष्ट निर्णय दिन देउवा र महन्थ ठाकुरलाई आग्रह गरेको छ । देउवा भने ओलीको विपक्षमा संसदमा बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि बढ्न चाहेका छैनन् ।

जसपाभित्र प्रष्ट दुई धार देखिएको छ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर नयाँ सत्ता समिकरणमा अग्रसरता लिने निर्णय गरिसकेको छ ।

केन्द्रीय समितिको शुक्रबार बस्ने बैठक स्थगित गरेका कांग्रेस सभापति देउवाले सरकार गठनका विकल्पबारे छलफल सुरु गर्न लागेका हुन् । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बिहीबार साँझ निकटस्थ नेताहरुसँग परामर्श गरेका थिए ।

केन्द्रीय समिति बैठकबाट सरकारको नेतृत्व गर्ने निर्णय लिएको एक साता बितिसकेकोले अन्तरपार्टी छलफल गर्न नेताहरुले देउवालाई सुझाएका थिए ।