सुदूरपश्चिम प्रदेशमा थप ७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ८ सय ५६

सुदूरपश्चिम प्रदेशमा थप ७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ८ सय ५६
Spread the love

धनगढी, कात्तिक १ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा आज थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका ५ वटा प्रयोगशाला मार्फत ९ सय ८४ जनाको परीक्षण गरिएकोमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिका विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ४० जनाको परीक्षण गरिएकोमा  कैलालीका ४८ सहित ५८ जनामा कोरोना पुष्टि भएको छ।

सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ४८ र कञ्चनपुरका ८, डडेल्धुराका १ र डोटीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । उपमहानगरपालिकाको वडा नम्बर १ का १६ जना, वडा नम्बर ४ र ५ का  ४÷४ जना, वडा नम्बर ८ का ३ जना, त्यसैगरी वडा नम्बर २ र ३ का २–२ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

वडा नम्बर ६, ७, १२, १४ र १८ का एकरएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको उनले बताए। यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका–८ का २ जना, यस्तै लम्किचुहा नगरपालिका–१, गौरीगंगा नगरपालिका र ठेगाना नखुलेका एकरएक जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाका ४ जना, भीमदत्त नगरपालिकाका २ जना र शुक्लाफाटा नगरपालिका–१० र बैलौरी नगरपालिकाकाक एक एक जनामा कोरोना संक्रमण देखिएका अस्पतालका सूचना अधिकारी  श्रेष्ठले बताए।

त्यसैगरी डडेल्धुराको आलिताल गाउँपालिका–८ का १ जना, डोटीको जोरायल गाउँपालिकाका एक जनामा पनि कोरोना संक्रमण देखिएको सेती अस्पतालले जनाएको छ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा  ६ सहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय २८ जनाको परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए।

प्रयोगशाला इन्चार्ज भुसालका अनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर २ का तीन जना, परशुराम नगरपालिका वडा नम्बर १२ का दुई जना, आलिताल गाउँपालिका वडा नम्बर ४ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बैतडीको पाटन नगरपालिकाका ४ जना, दार्चुलाको मार्मा गाउँपालिकाका तीन जना र बैतडीको पञ्चेश्वरका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भुसालले जानकारी दिए ।

बैतडीमा जनप्रतिनिधिसहित ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण पाटन नगरपालिका स्थित एक वडाअध्यक्षसहित २ जना जनप्रतिनिधि, पाटनकै अन्य २ जनामा कोरोना पुष्टि भएको हो।

पाटन नगरपालिका वडा नम्बर ३ का ६० वर्षीय पुरुष, ५ का ३९ वर्षीय महिला, ३ का ३० वर्षीय पुरुष र वडा ३ कै १२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महराले जानकारी दिए ।

यस्तै पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा पनि थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ८ हजार ८ सय ५६ पुगेको छ। संक्रमित मध्ये ७ हजार बढिले कोरोना जितेका छन् भने २४ जनाको मृत्यु भएको छ।