धनगढी, असोज ६ (ई–रैवार)
साउन २८ गते कैलालीमा हिरासतमै मृत अवस्थामा फेला परेका अमर बहादुर चन्द मृत्यु प्रकरणमा ३ जना प्रहरीलाई कारबाही हुने भएको छ ।धनगढी उप–महानगरपालिका–१९ फूलवारी स्थित बहुलिया प्रहरी हिरासतमा कार्यरत ३ जना प्रहरी कर्मचारीलाई कारवाहीका लागि सिफरिस गरिएको हो ।
सिमा प्रहरी चौकी बहुलियाको शौचालयमा ब्लेडले घाटी रेटेको अवस्थामा फेला परेका चन्दको हत्या गरिएको परिवारले आरोप लगाएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुप शमशेर जबराले चौकीमै थुनुवाको मृत्यु हुनमा प्रहरीको पनि कम्जोरी देखिएकाले प्रहरी उपरीक्षक राजिब बस्नेतको नेतृत्वमा गठन भएको छानबिन समितिले प्रहरीको लापरबाही ठहर गर्दै ३ जना प्रहरीलाई कारबाहीको लागि सिफारिस गरेको बताए ।
‘प्रहरीकै कारण युवकको मृत्यू भएको भने होइन, प्रहरी उपरिक्षक जबराले भने–‘तर चौकिमै थुनुवाको मृत्यु कसरी भयो भन्ने प्रश्न उठ्न सक्दछ, त्यो घटना हुनुनै प्रहरीको कम्जोरी हो ।’
बहुलिया हिसारतमा राखिएका फुलवारीका अम्मरबहादुर चन्द साउन २८ गते मृत अवस्थामा फेला परेका थिए । मृतकका आफन्तले प्रहरीले युवकको हत्या गरेको आरोप लगाउँदै आएका छन् ।
प्रतिवेदन बुझाउन नसकेपछि ५ दिन म्याद थप
त्यस्तै हिरासत मृत्यु प्रकरण बारे छानबिन गर्न गठित समितिले तोकिएको मितिमा प्रतिवेदन बुझाउन नसकेपछि ५ दिन म्याद थप गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले छानबिन समितीलाइ प्रतिवेदन तयार गर्न ५ दिनको समयको दिइएको जानकारी दिए छन् ।
धनगढीका १९ वर्षीय रोशन बिक कैलाली प्रहरीको थुनुवा कक्षमा मृत फेला परेपछि घटनाको छानबिनका लागी प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा ५ सदस्य समिति गठन गरिएको थियो । छानबिन समितिले घटनाको अनुसन्धान गरिरहेको छ ।


