काठमाडौं, असोज ६ (ई–रैवार)
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक दिउँसो साढे १२ बजे बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले मन्त्री हेरफेर गर्न आवश्यक मापदण्ड बनाउन कार्यदल बनाउने वा अध्यक्षद्वयलाई जिम्मा दिने भन्ने निर्क्यौल गर्ने एक सचिवालय सदस्यले जनाएका छन् ।
संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजना बैठकको एजेण्डा छ ।
आइतबार पेरिसडाँडामा बसेको बैठकमा पार्टीलाई सशक्त बनाउन आयस्रोत नभएका केन्द्रीय सदस्यलाई जीवीकोपार्जनमा सहज हुने गरी मासिक रकम दिने विषयसमेत छलफलमा आएको छ । यसबारे ठोस निर्णय भने भएको छैन ।
यसैगरी कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ ।
यस्तै आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि गर्नुपर्ने साठानिक एकताका बाँकी काम अघि बढाउन आवश्यक कामकारबाहीबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।
यसअघि सोमबार बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । त्यसअघि आइतबार तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो । सो बैठकमा मन्त्रिपरिषद सदस्यहरु हेरफेर गर्नेलगायतका विषयमा छलफल भएको थियो ।


