काठमाडौं, फागुन २० (ई-रैवार)
सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो ।
दुबै पक्षबीच सहमति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र त्यस पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पुनर्स्थापनापछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकअघि एकै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।
सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।
सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको वार्ता टोली सदस्य भट्टराईले जानकारी दिए ।
वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।



