काठमाडौं, आश्विन १ (ई-रैवार)
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शंकास्पद मृत्यु भएका नागरिकको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।
कांग्रेस प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले बिहीबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै शंकास्पद मृत्यु भएका नागरिकको कोरोना परीक्षण नगर्ने निर्णय अबिलम्ब फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार शंकास्पद मृत्युमा शव व्यवस्थापन गर्दा सबै मापदण्ड पालना गर्नुपर्ने, नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने तर शवबाट स्वाब निकालेर पीसीआर टेष्ट नगर्ने निर्णय गरेको थियो ।
“शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय अत्यन्तै गलत छ, तत्काल फिर्ता लिएर गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ मात्रै यस्ता संवेदनशील विषयमा निर्णयमा पुग्न नेपाली कांग्रेस सरकार र सम्बन्धित निकायलाई आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, कसैलाई संक्रमण छ र छैन व्यापक परीक्षण गर्नु र उबाट अन्यमा सर्न नदिन सम्पूर्ण सतर्कता राख्नु राज्यको प्रथम दायित्व हो । तर कयौंले जीवित छँदै आफ्नो स्थितिबारे पूर्व सूचना पाएनन्, मृत्यु पश्चात कोरोना पुष्टि भएको कयौं विवरण सार्वजनिक भए ।’
मृत्युपछि मात्रै पीसीआर भनेर भएका आलोचना अन्त्य गर्न सरकारको परीक्षण नै नगर्ने निर्णय गरेको हुनसक्ने कांग्रेसको आशंका छ । ‘अहिले आलोचनाबाट जोगिने होइन, कोरोनाबाट नागरिकलाई जोगाउने रणनीति विकासमा आफूभित्र योग्यता र सक्षमताको खोजी गर्न जरुरी हुन्छ,’ उनले भनेका छन्, ‘शंकास्पद मृत्युमा कोरोना परीक्षण नगर्ने निर्णय गरिरहँदा त्यससँग गाँसिएका गम्भीर सैद्धान्तिक र व्यवहारिक प्रश्न नजरअन्दाज नगर्न हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।’
परिवारको सदस्यको मृत्यु हुनुको वास्तविक कारण थाहा पाउन पनि शंकास्पद मृत्यु भएका ब्यक्तिको परीक्षण जरुरी भएको छ । तर मृत्युको ग्राफ उकालो लागिरहेका बेला सरकारले परीक्षण नै नगर्ने नीति लिएको भन्दै प्रवक्ता शर्माले भनेका छन्, ‘शंकास्पद मृत्युको परीक्षण नगर्ने नीतिले कोरोनाबाट मृत्युको तथ्यांक कम देखाउन सरकारलाई सघाउला तर मृत्युको बढ्दो गति रोक्न सघाउँदैन ।’
प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न गरेका छन्, ‘सरकारको शक्ति र रणनीति मृत्युको तथ्याङ्क लुकाउनमा प्रयोग गर्ने कि मृत्युको गति नियन्त्रण गर्न प्रयोग गर्ने ?


