शिक्षकको अपहरणपछि गोली हानी हत्या : सुराकीको आरोपमा शिक्षकको हत्या गरेको सूचना आएको छ : प्रहरी

शिक्षकको अपहरणपछि गोली हानी हत्या : सुराकीको आरोपमा शिक्षकको हत्या गरेको सूचना आएको छ : प्रहरी
Spread the love

विराटनगर,मंसिर २३ (ई-रैवार) 

मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । मोरङका एसपी सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको आज बिहान गोली हानी हत्या भएको हो ।

मोरङको मिक्लाजुङमा विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा शिक्षकको हत्या भएको प्रारम्भिक सूचना आएको एसपी खड्काले बताए । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेका थिए । बिहान सवा ६ बजेतिर चार–पाँच जनाको संख्यामा आएको समूहले श्रेष्ठलाई घरबाटै ३० मिनेट टाढा जंगलमा लगेर हत्या गरेको एसपी खड्काले बताए ।

‘विप्लव समूहका कार्यकर्ताहरुले सुराकीको आरोपमा मिक्लाजुङमा मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको सूचना आएको छ,’ प्रहरी उच्च स्रोतले भन्यो । ५४ वर्षीय श्रेष्ठलाई घरबाटै उठाएर करिब एक किलोमिटर पर पुर्याई टाउकोमा गोली हानेर विप्लव समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।

मक्लाजुङ गाउँपालिका– १ का वडा अध्यक्ष नरबहादुर राईका अनुसार मंगलबार बिहान घरबाटै शिक्षकलाई अज्ञात समूहले लिएर गएका थिए । शिक्षकलाई घरबाट लिएर गएको केही समयपछि हत्या गरेको खबर आएको उनले बताए । ‘वडा कार्यालयबाट करिब अढाई घण्टाको दुरीमा पर्छ उहाँको (शिक्षक) घर,’ उनले भने, ‘बिहान घरबाट अज्ञात समूहले लिएर गयो भन्ने जानकारी आयो । लगत्तै मान्छेलाई सिध्याएको खबर आयो ।’

उनका अनुसार शिक्षक श्रेष्ठ गाउँमै रहेको सरस्वती आधारभूत विद्यालयमा पढाउँदै आएका छन् । ‘उहाँको घर अलिक माथि नै पर्छ,’ अध्यक्ष राईले भने, ‘घरदेखि केही पर जंगलमा हत्या भएको छ । हामी जाने तयारी गर्दैछौं ।’

उनका अनुसार शिक्षक श्रेष्ठको घर नजिकै रहेको स्थानबाट दशैंमा प्रहरीले विप्लव समूहका दुईजना नेतालाई हतियारसहित पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार मिक्लाजुङ नेत्र विप्लव चन्द समूहको सैन्य अभ्यास गर्ने क्षेत्र हो ।

पाँचथर, इलाम धनकुटा र मोरङको सीमावर्ती क्षेत्र मिक्लाजुङमा विप्लव समूहले सैन्य अभ्यास हुँदै गएको जानकारीका आधारमा गत कात्तिक १२ गते मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो । तर विकट क्षेत्रमा मोबाइल नेटवर्कले काम नगर्दा विप्लव समूहका कार्यकर्ता भागेका थिए ।

स्थानीयको घरमा लुकेका दुई जना पक्राउ परेका थिए । इलामको चुलाचुली गाउँपालिका– ६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका– २ का ३२ वर्षीय प्रतिक भनिने काशिनाथ घिमिरेलाई हतियारसहित पक्राउ परेको थियो ।

प्रहरीका अनुसार घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन् । उनी सप्तरी जिल्लाका पूर्वसेक्रेटरी पनि हुन् । यसैगरी विज्ञान राई पार्टीको साधारण सदस्य रहेको प्रहरीले जनाएको छ ।

गत मंसिर ८ गते पनि मिक्लाजुङबाट बन्दोबस्तीका समान खरिद गर्न उर्लाबारी आएका विप्लव समूहका सेक्सन कमाण्डर ताप्लेजुङका ३२ वर्षीय पेम्बा साङ्गे शेर्मा पक्राउ परेका थिए । उनको साथबाट पेस्तोल र विप्लव समूहका कार्यकर्ताका लागि खरिद गरेको ज्याकेट बरामद गरेको थियो ।