दार्चुलाको व्याँसमा वडाअध्यक्षले नै गरे गाउँपालिकामा तालाबन्दी

दार्चुलाको व्याँसमा वडाअध्यक्षले नै गरे गाउँपालिकामा तालाबन्दी
Spread the love

दार्चुला,  भदौ २८ (ई-रैवार) 

दार्चुलाको व्याँसमा वडाअध्यक्षले नै गाउँपालिका कार्यालयमा ताला लगाएका छन् । वडा नम्बर ३ का वडाअध्यक्ष उपेन्द्रसिंह धामीले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।

व्याँस गाउँपालिका–३ सिनामा वडाबाट छनोट भई स्वीकृत भइसकेका योजनालाई गाउँपालिकाले शिर्षक परिवर्तन र रकमान्तर गरेकाले तालाबन्दी गर्नुपरेको वडाध्यक्ष धामीले बताए ।

वडाबाट छनोट भएका योजना वडा कार्यालयको असहमतिका बीच गाउँ कार्यपालिकाको बैठकले शिर्षक परिवर्तन गरी रकमान्तर गर्ने निर्णय गरेको थियो । गत १९ भदौमा गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीलाई योजनाको रकमान्तर गर्ने निर्णय फिर्ता गर्न ज्ञापनपत्र बुझाउदाँसमेत कुनै सुनुवाई नभएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको वडाध्यक्ष धामीको भनाई छ ।

वडाका जनताको आवश्यकता र मागका आधारमा छनोट गरिएका योजना वडा समिति र गाउँसभाबाट पनि स्वीकृत भइसकेको अवस्थामा गाउँकार्यपालिकाले मनोमानी ढंगले शिर्षक परिवर्तन गरी रकमान्तर गरेकोप्रति वडावासीले आक्रोश व्यक्त गरेका छन् ।

व्याँस गाउँपालिका–३ तुसरपानी बस्तीका पहिरो पीडितहरुले उचित राहत नपाएको भन्दै गाउँपालिकामा खर छानोमुक्त कार्यक्रमअन्र्तगत राखिएका जस्तापाता लगेका थिए । लक्ष्यभन्दा बढी जस्तापाता वडा नम्बर ३ मा गएपछि वडाको बजेट कटौती गरेर जस्तापाता थप्ने उद्देश्यले बजेट रकमान्तर गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

व्याँस गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले भने गाउँपालिकाभरि वितरण गर्नका लागि ल्याइएका जस्तापाता आधाभन्दा बढी वडा नम्बर ३ मा गएपछि चालुतर्फका केही योजनाको बजेट रकमान्तर गरेर विपद् व्यवस्थापन कोषमा राख्ने र सोही रकमबाट थप जस्तापाता खरिद गर्ने निर्णय कार्यपालिका बैठकले गरेको जानकारी दिए । शुक्रबार गाउँपालिकामा तालाबन्दी भएपछि सो विषयमा छलफल गर्न आईतबार गाउँकार्यपालिका बैठक बोलाइएको उनले बताए ।

गाउँपालिकासंग विपद् ब्यवस्थापन कोष, आकस्मिक कोष भएको अवस्थामा वडाको योजना कटौती गर्नु अन्यायपूर्ण भएकोले उक्त कार्य रोक्न तालाबन्दी गरेको वडाअध्यक्ष धामीले बताए ।