काठमाडौं, असोज २१ (ई-रैवार)
मन्त्रिमण्डलले शुक्रबार मात्रै पूर्णता पाउने भएको छ । आज मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका दलहरूले आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने सहमति गरेको हो ।
बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने विषयमा सहमति भएको बालुवाटार स्रोतले जनाएको हो । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको बताईएको छ।
‘आन्तरिक तयारी नपुगेकाले भोलि शुक्रबार मात्रै मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ’, स्रोतले भन्यो, ‘सकेसम्म आजै पूर्णता दिने कुरा थियो, तर सकिएन ।’ सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो । तर मन्त्रालयका विषयमा दलहरुबीच कुरा नमिलेका कारण बिहीबार मन्त्रिपरिषद विस्तार हुन नसकेका स्रोतले बताएको छ ।
राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ । गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले बिहीबार गठबन्धनको निर्णायक बैठक बसेको थियो ।


