सिन्धुपाल्चोक पहिरोमा पुरिएकामध्ये ७ जनाको शव फेला, १९ जना अझै बेपत्ता

सिन्धुपाल्चोक पहिरोमा पुरिएकामध्ये ७ जनाको शव फेला, १९ जना अझै बेपत्ता
Spread the love

सिन्धुपाल्चोक, भदौ २८ (ई-रैवार) 

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोमा पुरिएकामध्ये ७ जनाको शव फेला परेको छ । वडा नं ७ को दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ७ जनामध्ये दुई जनाको परिचय खुलेको हो । अरुको शव पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

 घुम्थाङ नागपुजेमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कको बिक टोलमा पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिकको मात्रै परिचय खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाका अनुसार पहिरोमा अझै १९ जना बेपत्ता छन् । पहिरोले १२ वटा घर बगाएको छ । पहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ । सभामुख अग्नि सापकोटाले पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन । बिहान काठमाण्डौबाट स्थलमार्ग हुँदै उहाँ पहिरो प्रभावित क्षेत्रमा पुगेका हुन ।

गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । सूचना अधिकारी डिएसपी सापकोटाका अनुसार हालसम्म ११ वटा घरमा क्षति पुगेको जानकारी प्राप्त भएको छ ।